व्यवसायिक रुपमा बिरुवा उत्पादन गर्न नर्सरी घर
दैलेख : गाउँमै फलफुलका बिरुवा र अन्य बिरुवाका बेर्ना उत्पादन गर्न नर्सरी निर्माण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड –१९ ग्रिन रिकभरी परियोजना को सहयोगमा डुङ्गेश्वर गाउँपालिका २ लुकारीको उम र गुयलीमा चार वटा नर्सरी घर निर्माण गरिएको हो । व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी जीविकोपार्जन सँगै आय आर्जन गर्ने उद्देश्यले नर्सरी घर निर्माण गरी किसानलाई हस्तान्तरण गरिएको छ । नर्सरी घर बाट कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेशमै फर्केका युवा, एकल महिला, घरेलु हिंसा, अपाङ्गता भएका र विपन्न वर्गकाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ ।
महिला सशक्तीकरण मञ्च नेपालका कृषि अधिकृत दिवस के.सीले कोरोना बाट प्रभावित युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले नर्सरी घर निमार्ण गरिएको बताए । उनले कृषकलाई नर्सरी घर निमार्ण गरी कृषकलाई हस्तान्तरण गरेको बताए ।
डुङ्गेश्वर गाउँपालिका २ का अध्यक्ष याम बहादुर विष्टले ब्यबसायिक रूपमा बिरुवा उत्पादन गर्न कृषकलाई नर्सरी घर सहयोग गरिएको र यसै बाट दीर्घकालीन रूपमा बिरुवा उत्पादन गर्न सहयोग पुग्ने बताए ।उनले परियोजना सकिए पनि त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागी वडा र पालीकाको सहयोग रहने बताए ।
डुङ्गेश्वर गाउँपालिका २ का कृषक नेत्र बहादुर बस्नेतले निर्माण गरिएको नर्सरी बाट तरकारीका बिरुवा उत्पादन गर्दै आएको र अब सुन्तला ,कागती , अमिलो ,अलैचि का बेर्ना उत्पादन गर्ने बताए । उनले परियोजनाको सहयोगमा नर्सरी निर्माण गरिएको र त्यसमा किसानको कुनै लागत नरहेको बताए ।