Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

मतदान गर्न वञ्चित राउटे समुदाय

कमल शर्मा  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको माहौल तातिँदै गएको छ । उम्मेदवारहरू मत माग्न गाउँ गाउँका बस्तीमा पुगिरहँदा राउटे समुदायमा भने सुनसान छ । बनको राजा भनेर चिनिने नेपालको फिरन्ते जाती राउटे यति बेला दैलेखको नारायण नगरपालिका–८ लोहोरे साल खर्कमा किनारमा बस्छन् । उम्मेदवारहरू चुनावी नारा र गीत बजार त्यही बस्तीको छेउछाउ हुँदै ओहोरदोहोर गरिरहदा भने बस्तीमा पुग्दैनन् । उनीहरू सँग मतदान गर्ने अधिकार छैन । राउटे समुदायलाई नेपाली नागरिकका रूपमा स्थापित गर्नका लागी स्थायी बासिन्दा बनाएर परिचय पत्र वितरण गरे पनि उनीहरूका नागरिकताका लागी आवश्यक पहल नगरिदिँदा राउटे समुदाय मतदान गर्न बाट वञ्चित हुनुपरेको हो ।

गुराँस गाउँपालिकाका –८ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले गाउँपालिकाले राउटे समुदायको अध्ययन अनुसन्धान र संरक्षणका लागी स्थायी परिचयपत्र वितरण गरेको भए पनि नागरिकता प्रदान गर्न नसकिएको बताए । उनले जगलमा फिरन्ते जीवनयापन गर्ने र एकै ठाउँमा नबस्ने गरेका कारण नागरिकताका लागी पहल गर्न नसकिएको बताए । उनले भने अहिले सरकारले दिने सामाजिक सुरक्षा भत्ता वडाकार्यलय बाट वितरण हुँदै आएकोको भए पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न कठिनाइ हुने गरेको छ ।

राउटेलाई अघिल्लो स्थानीय सरकारले कुनै योजना बिनै परिचयपत्र थमायो । अध्यक्ष ओलीले भने अहिलेको गाउँकार्यपालिकाले राउटेको संस्कार संस्कृतिको संरक्षण सँगै उनीहरूको व्यवस्थापन कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ विस्तृत योजना बनाउँदै छौ ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले स्थायी परिचयपत्र बनाए पनि अहिले सम्म आफ्नो समुदायले नागरिकता नपाएको बताए । उनले भने नागरिकता नभएका कारण हाम्रो मतदाता नामावली छैन त्यसैले आफ्नो समुदाय मतदान गर्न बाट वञ्चित छ । उनले भने राउटे समुदायको मुख्य सरोकारको विषय सामाजिक सुरक्षा भत्ता र जङ्गल हो । हामीलाई नागरिकता दिए पनि हामीलाई घुम्न दिनुपर्छ

राउटे परियोजना मार्फत राउटे समुदायका शिक्षक लाल बहादुर खत्रीले राउटे समुदायलाई राजनैतिक चासो कम हुने गरेको बताए । उनले भने तपाइहरू मतदान नगर्ने भन्दा तपाईँहरूको राजा तपाईँहरू छान्नुहोस् भन्नुहुन्छ । उनले सरकारले लोपोन्मुख राउटे समुदायका लागी आवश्यक कार्यविधि निर्माण गरी उनीहरूलाई नागरिकता वितरण गरेको खण्डमा राउटेहरू मतदान गर्न जाने बताए ।

राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी अधिकारीले राउटेहरूलाई नागरिकता प्रदान गरी राज्यको मुलप्रवाहमा ल्याउने पर्ने बताइन । उनले पहिलाको जस्तो उहाँहरूमा व्यवहार छैन बिस्तारै परिवर्तन हुँदै गएको छ उहाँहरूलाई आवश्यक बास व्यवस्थापन र नागरिकता प्रदान गरेको खण्डमा उहाँहरू मतदान प्रक्रियामा सहभागी हुनुहुन्छ ।

उनले थपीन सरकारले राउटेहरुलाई सामाजिक सुरक्षाभत्ता दिदै आएको छ उहाँहरु नेपाली नागरिक होइन भने सामाजिक सुरक्षाभत्ता किन दियो सामाजिक सुरक्षाभत्ता दिएकै प्रमाणका आधारमा तत्काल उनीहरुलाई सामानुपातिक निर्वाचनमा मतदान गर्ने पाउने व्यवस्था निर्वाचन आयोगले मिलाउनुपर्छ । राउटे समुदायमा ४० घरधुरीमा एक सय ४३ जना सदस्य रहेका छन ।