Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

टी–२० विश्वकप उपाधि इंग्ल्यान्डको पोल्टामा

काठमाडौँ  :  टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ। अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा आज भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचालेको हो।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। इंग्ल्यान्डको जितमा बेन स्टोकले अविजित रहँदै सर्वाधिक ५२ रनको योगदान गरे। कप्तान जोश बटलरले २६ र ह्यारी ब्रुकले २० रन जोडे। मोइन अलीले १९ रनको योगदान गर्दा फिल साल्टले १० रन जोडे।

पाकिस्तानका लागि ह्यारिस रउफले २ विकेट लिए भने शाहीन अफ्रिदी‚ मोहम्मद वसिम र सादाब खानले १÷१ विकेट लिए। क्याच समात्दा अफ्रिदी घाइते भएकाले उनले २ ओभर १ बलमात्र बलिङ गर्न सके। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रनमात्र बनाएको थियो।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए भने कप्तान बाबर आजम ३२ रन बनाएर आउट भए। मोहम्मद रिजवानले १५ रन बनाए भने ​शादाब खानले २० रन बनाए। पाकिस्तानको विकेट निरन्तर झरिरहँदा मोहम्मद ह्यारिसले ८ रन, मोहम्मद वासिमले ४ रन, मोहम्मद नवाजले ३ रनमात्र बनाउन सके इफ्तिखार अहमद कुनै रन नबनाई शून्यमै आउट भए।

शाहिन शाह अफ्रिदी ५ रनमा अविजित रहे भने ह्यारिस रउफ १ रनमा अविजित रहेपछि पछि निर्धारित २० ओभरमा पाकिस्तानको स्कोर ८ विकेटको क्षतिमा १ सय ३७ रनमात्र रह्यो। इंग्ल्यान्डका साम करनले ३ विकेट लिए। घातक बलिङ गरेका उनले त्यसका लागि ४ ओभरमा १२ रनमात्र दिए। क्रिस जार्डन र आदील राशिदले २र२ विकेट लिए भने बेन स्टोक्सले १ विकेट लिए।

उपाधि जित्ने सुरमा मैदानमा उत्रिएका दुवै टोलीबीच आज कडा प्रतिस्पर्धा भए पनि पाकिस्तानको ब्याटिङ भने नचल्दा सामान्य स्कोरमै इंग्ल्याण्डलाई रोक्नुपर्ने दबाबमा परेको थियो। इंग्ल्यान्डले भारतलाई र पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेका थिए।