Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

खराब मौसमका कारण घाइतेको उद्धार प्रभावित

काठमाडौँ  :  मनास्लु हिमपहिरोमा घाइते भएका एक जनाको मृत्यु भएको छ। हिमपहिरोमा गम्भीर घाइते भएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ। गम्भीर घाइेतमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको र पहिचान खुलिनसकेको विभागको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए।

गम्भीर घाइते दुई जनालाई भने हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ। अन्य दुई जना गम्भीर घाइेतको खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। ‘गम्भीर घाइेत पाँच जनामध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको छ। पहिचान भने खुलेको छैन। दुई जनालाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ। बाँकी दुई जनाको उद्धार प्रयास जारी छ। खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ,’ उद्धारका लागि गोरखा पुगेका खतिवडाले भने।

अहिले गोरखाको सामागाउँ र मनास्लु बेसक्याममा हेलिकोप्टर तयारी अवस्थामा रहेको र मौसममा सुधार हुनबित्तिकै गम्भीर घाइतेलाई उद्धार गरिने उनले बताए। बाँकी १० जना घाइतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

उद्धार गरेर ल्याइएका दुई जना घाइतेको काठमाडौँ बुढानीलकण्ठमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारेको थियो। त्यहाँबाट कैलाशको हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो।

करुणा अस्पतालले दुई जना घाइतेहरू डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेको बताएको छ। दुबैको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ। सोमबार मध्याह्नतिर मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा हिमपहिरो गएको हो। कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिएका थिए।