बालबालिकाको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण : शाही
दैलेख : जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले बालबालिकाको संरक्षण संवर्द्धनमा सबै सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा नारायण नगरपालिकाको आयोजना गरिएको आँखा तथा कानको हेरचाह हाम्रो जिम्मेवारी विषयक माद्यामिक विद्यालय स्तरीय वक्तृत्वकला बोल्दै उनले उक्त कुरा बताएका हुन ।
उनले बालबालिकाको संरक्षणका लागी विद्यमान रहेका ऐन,नियमको कडाइका साथ लागु गर्दै भविष्यका कर्णधारको भविष्य उज्ज्वल बनाउन सबै लाग्नु पर्ने बताए ।
नारायण नगरपालिका दैलेखका शिक्षा अधिकृत पूर्ण प्रसाद आर्चायले माद्यामिक विद्यालय स्तरीय आँखा तथा कानको हेरचाह हाम्रो जिम्मेवारी विषयक वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयका छात्र भरत शाही प्रथम भएको बताए ।
उनका अनुसार द्धितियमा महेन्द्र माध्यमिक विद्यालयका छात्रा आस्था सुनार, रैनादेबी माध्यमिक विद्यालयका छात्रा चन्द्रा नेपाली तृतीय,रेडक्रस माध्यमिक विद्यालयकी छात्रा पूर्णिमा रेग्मी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कालीमाटीका छात्रा सपना रोकाय सान्त्वना भएका छन् ।
नारायण नगरपालिकाका कार्यवाहक नगर प्रमुख तप्ता कुमारी थापाले बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको भूमिका महत्त्वपूर्ण भएको बताइन ।
उनले अझै पनि कतिपय बालबालिकाहरू आफ्नो बाँच्न पाउने आधारभूत अधिकारबाट वञ्चित हुनु परेको बताउँदै त्यस्ता बालबालिकाको हक अधिकारका लागी सबैको भूमिका महत्त्वपूर्ण रहेको बताइन । उनले नारायण नगरपालिकाले नगरपालिका भित्र जन्मने बालबालिका कुपोषण नहोस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम समेत गरेको बताइन ।