Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न माग


दैलेख  :  कोरोना महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्य तत्काल अगाडी बढाउन माग गरिएको छ । दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर बिक,महासचिव प्रकाश पौड्याल लगायतको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर तत्काल अन्वेषण कार्य सम्पन्न गरी उत्खनन गर्न माग गरिएको हो ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर विकले कोरोना महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि सरकारले दुई वर्षको म्याद पुन थप गरिए पनि अहिले सम्म कुनै पहल नभएपछि प्रधानमन्त्रीलाई भेटेर उक्त आग्रह गरिएको बताए । उनले अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिए पछि त्यसका वास्तविक अध्ययन पश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम असोज महिनामा गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरका कारण प्रभावित बनेको कामलाई यथाशक्य छिटो काम सुरु गर्न आग्रह गरेको बताए । उनले भने चाइनाको प्राविधिक टोलीले सिस्मिक सर्भे सम्पन्न गरेको भए पनि मुख्य ड्रिलिङको काम रोकिएपछि आफूहरू बाध्य भएर प्रधानमन्त्री महा पुगेको बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश पौड्यालले पेट्रोलियम पदार्थको अन्वेषण सँगै दैलेख जिल्लाका अन्य मागहरू समेत प्रधानमन्त्रीलाई बुझाएको बताए । उनले दैलेख सुर्खेत सडक खण्ड दुई लेनको बनाउनुपर्ने तथा नेपालगञ्ज,सुर्खेत,दैलेख महाबु कालिकोट हुँदै नाम्चे नाङ्ला जोड्ने सडक निर्माण गर्नुपर्ने ,पुष्पलाल मध्य पहाडी राजमार्गको कालोपत्रेको काम यथाशीघ्र द्रुत गतिमा सञ्चालन गर्नुपर्ने, व्यवस्थित सिटी बसपार्क निर्माण गर्न, र दैलेखमा एयर पोट निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न लगायतका मागहरू प्रधानमन्त्रीलाई बुझाएको बताए । उनले भने दैलेख उद्योग वाणिज्य संघको मागप्रति प्रधानमन्त्री सकरात्मक रहेको र आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।