एसपिपी सम्झौताबारे सदनमा जानकारी गराउन सभामुखको रुलिङ
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसपिपीको विषयमा चर्को रुपमा आवाज उठाएपछि एसपिपीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।
सरकारलाई रुलिङ गर्दै उनले भने, माननीयहरूले उठाउनु भएको एसपिपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनु हुन नेपाल सरकारलाई निर्देश गर्दछु।’
बिहीबारको बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका प्रमुख सचेतक देव गुरुङ र एमाले सांसद भीम रावललगायतले एसपिपीबारे प्रश्न उठाएका थिए। रावलले बुधबारको बैठकमा एसपिपीबारे रुलिङ गर्न माग गर्दै २० मिनेट रोष्ट्रममा उभिएका थिए ।