Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

घटना छानबिन गर्न समिति गठन

..

दैलेख  :  गुराँस गाउँपालिकामा शुक्रवार साँझ करार कर्मचारीले आन्दोलनमा भएको गोली काण्ड घटनाको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षमा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरूमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल,राष्ट्रिय अनुसन्धान दैलेखका प्रमुख (डिएसपी) दिलबहादुर चौधरी , नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष यज्ञराज थापा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भूपेन्द्र थापा सदस्य सचिव रहेका छन ।

समितिले १५ घटनाको अनुसन्धान गरी सत्य तथ्य कुरा प्रतिवेदन मार्फत १५ दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने छ । आन्दोलनरत कर्मचारी र प्रहरीबिच दोहोरो झडप भएको थियो। प्रहरीले गोली हान्दा दुई जना कर्मचारी घाइते भएका थिए। ७ जना प्रहरी समेत घटनामा घाइते भएका थिए । गुराँस गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेसङै करार कर्मचारी आन्दोलनरत छन् ।

करारका कर्मचारीलाई हटाउने भनेर गुराँस गाउँपालिकाको दसौँ गाउँभामा निर्णय गरिएको विरोधमा करार कर्मचारीले गरेको आन्दोलन बाट गाउँपालिकामा गरिएको तोडफोडको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले समेत निरक्षण गरेका छन । उनी संगै प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाह लगायतले तोडफोड बाट भएको क्षतिको निरक्षण समेत गरेका छन ।

निरक्षणको क्रममा गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले गाउँपालिकाको कार्यालय तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताए । उनले कानुन भन्दा माथि कोही नभएको बताउँदै कानुनलाई हातमा लिन खोज्ने कार्य निन्दनीय भएको बताए ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले छानबिन समिति गठन भएको र त्यसका आधारमा आएको प्रतिवेदन अनुसार दोषी देखिएकाहरूलाई कानुनी कठघरामा ल्याइने बताए । उनले घटनाका विषयमा अध्ययन गर्न छानिबिन समिति गठन गरेका र त्यसले अध्ययन गर्ने भए पनि आफूले पनि घटनाको बारमा बुझ्न गाउँपालिका आएको बताए ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले आफूहरू माथि भएको साङ्घातिक हलामाको सत्य तथ्य बुझ्न आग्रह गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन । उनले भने कर्मचारी नियुक्त गर्ने नाममा गाउँपालिकाको आम्दानी नहेरी धमाधम कर्मचारी नियुक्त गरिएको बताउँदै उनले कर्मचारी राख्न नसकिने धारण समेत व्यक्त गरेका छन ।