छाडा कुकुरलाई रेबिज भ्याक्सिन
दैलेख : नारायण नगरपालिका बजार क्षेत्रमा रहेका छाडा कुकुरहरूलाई रेबिज र खोइरो रोगको भ्याक्सिन लगाइएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मुख्य बजार क्षेत्रमा छाडा कुकुरको बिगबिगी बढेपछि रेबिज र खोइरो रोगको भ्याक्सिन लगाइएको हो । नारायण नगरपालिकाको आयोजनामा जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको समन्वयमा बजार क्षेत्रमा रहेका छाडा कुकुरहरूलाई छोपेर भ्याक्सिन लगाउन सुरु गरेको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ ।
नारायण नगरपालिका पशु सेवा शाखाका प्रमुख पशु प्राविधिक चित्र बहादुर प्याकुरेले नगरपालिका भित्र रहेको छाडा कुकुरहरूलाई नियन्त्रणमा लिएर भ्याक्सिन लगाउन सुरु गरिएको बताए ।उनले शुक्रवार बाट उक्त कार्य सुरु गरिएको र एक हप्ता भित्र बजार क्षेत्र भित्र छाडा रहेका कुकुरलाई भ्याक्सिन लगाई सक्ने बताए ।
नारायण नगरपालिका –६ का वडाध्यक्ष तथा बन वातावरण तथा बि पद समितिका संयोजक जनक न्यौपानेले नगरभित्र छाडा रहेका कुकुरहरूको बिगबिगी रहेको गुनासो सामाजिक सञ्जालमा आएपछि आफूहरूले तत्काल योजना बनाएर त्यसका लागि आवश्यक भ्याक्सिनको व्यवस्था गरेको बताए । उनले नगरपालिकाको बजार क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा रहेका कुकुरहरूलाई समेत नागरिकको सहयोगमा छोपेर भ्याक्सिन लगाउने योजना नगरपालिकाले बनाएको बताए । उनले भने भन्नुभयो नगरपालिकामा रहेको कुकुर बाट रेबिजको महामारी फैलिने खतरा बढेकाले पालिका भित्रका सबै कुकुरलाई ऐन्टीरेबिज भ्याक्सिन लगाउन मातहतलाई निर्देशन दिइसकेका छौ ।
घर पालुवा कुकुरलाई घर धनीले आफ्ना कुकुरलाई नारायण नगरपालिका वा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा ल्याई भ्याक्सिन लगाउन सक्ने व्यवस्था मिलाइएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भीम बहादुर विष्टले कार्यालय बाट भ्याक्सिन लगाउने कार्य निरन्तर भइरहेको बताउँदै सेवा लिन आग्रह ग गरेका छन ।