Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली सरकारको बजेट खर्च ६२ प्रतिशत

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा ६२।३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको रु। ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ बजेट खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले शनिबार राती १२ बजेदेखि चालू आर्थिक वर्षको भुक्तानी निकासा बन्द गरिएको बताए । आर्थिक कार्यविधि नियमावलीमा आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अघि भुक्तानी निकासा बन्द गरी खर्च विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

महालेखा नियन्त्रक कार्यालयले आजदेखि प्रदेशको भुक्तानी प्रणाली बन्द गरी गरिसकेको छ । फ्रिज नहुने शीर्षकका रकमको भुक्तानी निकासा भने बन्द गर्न पर्दैन । प्रदेश लेखा नियन्त्रक बमले प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, कार्यालयहरुबाट विनियोजित बजेटमध्ये चालूतर्फ रु। नौ अर्ब १२ करोड ८१ लख २४ हजार ३४८ तथा पुँजीगततर्फ रु। १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार ४२६ खर्च भएको जानकारी दिए ।

कर्णालीमा चालू आवमा प्रदेश व्यवस्थापिकाले ७८ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ७४, मुख्यन्यायाधिवक्ता कार्यालयले ९५, प्रदेश योजना आयोगले ३७ प्रतिशत बजेट खर्च गरेका छन् । त्यस्तै मन्त्रालयहरुतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६७, सामाजिक विकास मन्त्रालयले ७३, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ४७, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७५, जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ७२, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६५, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७१ प्रतिशत बजेट खर्च गरेका छन् ।साभार