Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

संघीय निजामती सेवा ऐन जारी गर्न माग

दैलेख  :  निजामति कर्मचारीहरुले संघीय निजामती सेवा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्। जिल्लामा रहेका निजामती कर्मचारी आबद्ध विभिन्न संघ संगठनहरुले सोमबार प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै संसदको चालु अधिवेशनबाट ऐन जारी गर्न माग गरेका हुन्।
जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन,राष्ट्रिय कर्मचारी संगठन र एकिकृत सरकारी कर्मचारी संगठन पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यौल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ।

मुलुक संघीय व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागि तीनै तहको कर्मचारी प्रशासन व्यवस्थापन एंव मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुनु गम्भीर चिन्ताको विषय भएको ज्ञापन पत्रमा उल्लेख छ।

यसअघि राष्ट्रियस्तरका ट्रेड युनियनबाट दिइएका सुझाव र अन्य सरोकारवालाहरुको सहभागितामा ऐन निर्माणको प्रक्रियामा अघि बढाई चालु संसद अधिवेशनबाट ऐन जारी गर्न उनीहरुले माग गरेका छन्। ऐन जारी नभए कडा संघर्षमा उत्रनेसमेत उनीहरुले ज्ञापन पत्रमार्फत् सरकारलाई चेतावनी दिएका छन ।

निजामती कर्मचारी संगठनहरुले बुझाएको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला हरि बहादुर प्याकुरेलले संघीय निजामती सेवा ऐन जारी हुनु पर्ने भएपनि स्वार्थ समहुका कारण निजामती सेवा ऐन जारी हुन नसकेको बताए । उनले संगठनले पठाएको पत्र आजै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आफुले पठाउने बताए ।