अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ महामन्त्री : गगन थापा
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।
अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उनले बताए। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए। यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि थापाले बताए।
उनले भने– ‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ । हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राख्नेकुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन । कसैले सामान्य मानविय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन ।’
महामन्त्री थापाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए। उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफुहरुले अनौपचारिक रुपमा भनिसकेको पनि बताए।