मत प्रभावित पार्न लालपुर्जाको आश्वासन


दैलेख : नारायण नगरपालिका १ र ६ मा रहेको राति माटे दलित बस्ती र बादी समुदायको नमुना बस्तीमा हाराहारी दुई सय मतदाता छन् । दुवै बस्ती लालपुर्जा विहीन छ । तत्कालीन दश वर्षे जनयुद्धको बेला गाउँ बाट विस्थापित भएर आएका नमुना बस्तीका बादी समुदाय र पुस्तौँ देखी बाली घरे प्रथा गर्ने क्रममा ल्याइएका तर जग्गाधनीले जग्गा नदिएपछि सुकुम्वासी बनेका राति माटे दलित बस्ती निर्वाचनको बेला दलको प्रथामिकतामा पर्छन ।
निर्वाचनमा मत माग्न आउने दलले हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन देखाएर मत लिन्छन् तर निर्वाचन जितेपछि समुदायमा फर्केर जाने चलन कुनै दलको छैन । नारायण नगरपालिका –६ का बाबुलाल बादीले भने नागरिकको घर आँगनको सरकार भएको पनि पाँच वर्ष भयो । पाँच वर्ष सम्म हामीले त्रिपाल बाहेक अरू केही पाउन सकेनौ यो पटक लालपुर्जा दिन्छौ भनेर कागज गर्ने दललाई मतदान गछौ । उनले हामी सधैँ निर्वाचनको बेला मात्र प्राथमिकतामा पर्ने र अन्य समयमा ओझेलमा पर्ने गरेको गुनासो गरे ।
निर्वाचनको बेला मात्र मत प्रभावित पार्न विभिन्न आश्वासन दिने र जितेपछि नहेर्न गरेको गुनासो गरेपछि उहाँहरूलाई अन्य विषयमा कुरा गर्न समेत अप्ठ्यारो परेको बादी समुदायका अगुवाले बताएका छन् । बादी समुदायका साइला बादीले भने अघिल्लो पटक लालपुर्जाका लागि राष्ट्रिय भूमि आयोगको सूचना अनुसार नगरपालिकामा फाइल बुझायौ फाइल बुझाएको केही दिनमै सरकार परिवर्तन भयो त्यसले भूमि आयोग नै खारेज गरेपछि हामीले लालपुर्जा पाउन सकेनौ यो पटक पनि स्थानीय निर्वाचन पछि सरकार परिवर्तन हुने र त्यसको मार सोझा जनताले भोग्नु पर्ने अवस्था आउँछ होला ।
नमुना बस्तीका नन्दलाल बादीले अहिले पनि आफू विद्यालयमा बस्ने गरेको बताउँदै त्यसका लागि आर्थिक माग गरे पनि कसैले पनि सहयोग नगरेको बताए । उनले भने निर्वाचनको बेला नेता हात जोड्दै आउनुहुन्छ । अन्य समयमा नमस्कार गर्दा समेत नफर्काउने गर्ने गरेको गुनासो पोख्नुभयो । नारायण नगरपालिकामा नेपाली काँग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ । जुन दलले निर्वाचन जिते पनि दुई सय देखी दुई ५० मतको फरकमा निर्वाचन जित्ने हुँदा उक्त बस्तीमा बढी प्राथमिकता दिने गरेका छन् ।
नेकपा एमाले बाट नगर प्रमुखको उम्मेदवार बनेका लोमन शर्माले आफूले निर्वाचन जितेमा दुवै बस्तीको समस्या समाधानका लागि पहल थाल्ने बताए । उनले भने यस अधि लालपुर्जा विहीनको तथ्याङ्क संकलन भएको छ अव हामीले भुमि आयोगलाई सिफारिस गर्ने र छिटै लालपुर्जाको व्यवस्था गर्छौ ।
नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले निर्वाचनको बेला जनता माझ गरिएका प्रतिबद्धता अनुसार खरको छाना विस्थापित गर्ने अभियानमा राति माटे बस्तीमा टिनको पाता दिएको र लालपुर्जा वितरण गर्न नसकिएको बताए । उनले हामीले यहाँ बाट तथ्याङ्क संकलन गर्ने हो लालपुर्जा भूमि आयोगले दिने हो त्यही अनुसार काम अगाडी बढेका छ । उहाँहरूको माग सम्बोधन हुन्छ ।

