Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेखमा नमुना मतदान , ४८ मतमा चार मत बदर

दैलेख  :  आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नमुना मतदान गरिएको छ । बुधवार जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न डुगेश्वर गाउँपालिका–१ मा रहेका त्रिवेणी संगम माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा वडाध्यक्षका उम्मेदवारले समेत मतदान गरेका छन् । नेकपा एमाले बाट डुगेश्वर गाउँपालिका –१ म वडाध्यक्षका उम्मेदवार लोक बहादुर डाँगी र गठबन्धन बाट उम्मेदवार हुनुभएका श्याम रानाले मतदान समेत गरेका थिए ।
नमुना मतदान गर्दै वडाध्यक्षका उम्मेदवार लोक बहादुर डाँगीले मतदान शिक्षा नहुँदा बढी मत बदर हुने सम्भावना बढेको बताए । उनले भने मतदाता शिक्षा छैन हामी उम्मेदवार पनि दलको चुनाव चिन्हमा मात्र मत मागेका छौ कसरी हाल्ने भन्ने सिकाउन पाएका छैनौ त्यसैले पनि मतपत्र बदर हुने सम्भावना बढेको छ ।

त्यस्तै अर्का वडाध्यक्षका उम्मेदवार श्याम रानाले पार्टीको सैद्धान्तिक मत हाल्ने बानी परेका नागरिकलाई गठबन्धनका उम्मेदवारलाई मत हाल्न समस्या हुने बताए । उनले भने हामी वडामा माओवादी,नेपाली काँग्रेस ,एकीकृत समाजवादी बाट उम्मेदवार भएका छौ हाम्रा चुनाव चिन्ह फरक छन् त्यसैले मत बदर हुने जोखिम बढेको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका जिल्ला निर्वाचन अधिकृत मनमाया काउँचाले विगतका निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा समय अभावका कारण नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको जानकारी दिइन । उनले भन्नि विगतमा भएका निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा मतपत्र कम बदर हुने हुन्थ्यो यस पटक मतदाता शिक्षा कार्यक्रम छैन उहाँले भन्नुभयो त्यस कारण नमुना मतदान राखिएको हो, यसले पनि धेरै कुरा सिकाएको छ । नमुना मतदानमा ४८ जना सहभागी भए । जसमा चार मत पूर्ण रूपमा बदर भएको थियो भने केही आंशिक बदर भएका थिए ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु शर्माले नमुना मतदानमा सहभागी भएकाहरूले मत खसाल्न झन्डै तीन मिनेट समय लगाएको बताउँदै नागरिकहरूलाई मतदाता शिक्षा अनिवार्य भएको बताए । उनले साधारण लेखपढ गर्ने नागरिकले मतहाल्दा आफ्नो निर्वाचन चिन्हमा मतदान गरेपनि गठबन्धन दल बाट उम्मेदवारी दिएकाहरुको बढि समस्या देखिएको बताए ।

नमुना मतदानमा मानवअधिकारकर्मी, नागरिक समाज, कर्मचारी, पत्रकारलगायत सहभागी थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार दैलेखमा कुल एक लाख ५८ हजार ७८९ मतदाता रहेका छन् । जिल्ला भर एक सय ३६ मतदान केन्द्र र दुई सय सात मतदान स्थल रहेका छन् ।