प्रहरी कार्यालयमा सेवाग्राही कुटिएको भिडियो बाहिरियो
दैलेख : जिल्ला प्रहरी कार्यालयमा सेवा लिन गएका युवा कार्यालयमा कुटिएका छन् । नारायण नगरपालिका–६ बसपार्कका ओम प्रसाद रेग्मी प्रहरी इन्स्पेक्टर इन्द्रजीत सुनार बाट कुटिएको भिडियो बाहिरीएको छ । चार महिनाअघि घर अगाडिबाट हराएको मोबाइल खोजी पाऊँ भनेर प्रहरीमा निवेदन दिएको र प्रहरीले चासो नदेखाएपछि आफैँ विभिन्न माध्यमबाट फेला पारेको बताए । उनले भने हराएको मोबाइल खोजी पाऊँ भनेर प्रहरीमा दिएको निवेदनको सुनुवाइ भएन आफै फेला पारेपछि प्रहरीलाई जानकारी गराऔँ भेटाउने र हराउने दुवै जनाको साइन गराएर मोबाइल बुझ्छुभन्दा इन्स्पेक्टरले कुटेको बताए ।
रेकर्ड गरेको भिडियोमा इन्स्पेक्टर इन्द्र जित सुनारले मुक्का प्रहार गरेको देखिन्छ । भिडियोमा उनको हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनका आधारमा भेट्टाउने र बुझ्नेको साइन गराएर मात्र मोबाइल बुझ्ने भनेको सुनिन्छ । तर, इन्स्पेक्टर सुनारले आफूलाई कानुन नसिकाउन भन्दै एक मुक्का हानेको देखिन्छ ।
सुनारले मुला शब्द प्रयोग गर्दै यहाँको अनुसन्धानको विषयमा नसिकाउन भनेका छन । रेग्मीले दुवै जनाको साइनबिना मोबाइल नबुझ्ने भनेर बाहिरिएपछि पुनः इन्स्पेक्टर सुनारले आफ्नो कार्यकक्षमा बोलाएर सेवाग्राही रेग्मीलाई मुक्का प्रहार गरेको देखिन्छ । यसरी बिना गल्ती हातपात गरेर प्रहरीले ममाथि झन् अन्याय गरेको रेग्मीको आरोप छ । घटनाका बारेमा बुझ्दा प्रहरी इन्स्पेक्टर इन्द्रजीत सुनारले आफूले भिडियो नखिच्नु भनेर सम्झाउँदा नमानेपछि त्यस्तो भएको प्रतिक्रिया दिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले घटनाबारे आफूले जानकारी पाए लगत्तै दुबै पक्षलाई राखेर समस्या समधान गरिएको बताए । उनले पीडीत नै आफु मिलेर गइसकेपछि अरुले घटनालाई प्रचार गर्नु गलत भएको बताए ।
सेवा लिन जाँदा प्रहरीले नै कुटेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेपछि वडा अध्यक्ष र पीडित रेग्मी जिल्ला प्रहरीमा गएको र प्रहरी इनिस्पेक्टरले माफी मागेको समेत पाइएको छ । दुवै जनालाई रोवरमा राखेर घटना मिलाउन खोजे पनि सामाजिक सञ्चालनमा प्रहरी इनिस्पेक्टरले कुटेको भिडियो बाहिरीपछि घटना बाहिर आएको हो ।