Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

महाभियोग विरुद्धमा एमालेले सडक र सदनबाट विरोध जनाउने

काठमाडौं  :  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्तागठबन्धन दलहरुद्वारा संसद् सचिवालयमा दर्ता गराएको महाभियोगको विरुद्धमा सडक र सदन दुवै ठाउँबाट विरोध जनाउने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रको रुपमा आएको बताए । संसदीय दलका प्रमुख सचेतक भट्टराईका अनुसार सत्ता गठबन्धनले अमेरिकी आर्थिक सहायता मिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता जसरी पनि पास गर्ने तयारी गरिरहेका बेला एमालेले त्यसलाई लोकतन्त्रमाथिको प्रहारको रुपमा लिएको उनले बताए ।

न्यायालयलाई अस्थिर बनाउने काम भइरहेको एमालेले ठहर गरेको प्रमुख सचेतक भट्टराईले बताए । यसका लागि न्यायालयबाट समेत प्रतिवाद गर्ने विषय एमाले संसदीय दलको बैठकमा छलफल भएको उनले जानकारी दिए ।

विगतमा सन् २०१७ मा पनि देउवा नेतृत्वको सरकारका पालामा एमसीसी सम्झौता भएको र सो समयमा माओवादी पनि सामेल रहेको उनले बताए । सत्ता गठबन्धनले अघि सारेका विसङ्गति र बेथितीविरुद्ध सदन, सडक र न्यायलयबाट पनि प्रतिवाद हुन्छ उनले भने ।