Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

श्रमिक बालबालिकाको उद्धार

दैलेख  :  एक होटलबाट दुई जना बाल श्रमिकको उद्धार गरिएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ स्थित डुङ्गेश्वर बजारको युवक होटलमा काम गर्दै आएका गुराँस गाउँपालिका–४ सालघारी रतिखोलाका कृष्णबहादुर गुरुङ्गको छोरी १५ बर्षीया टिका गुरुङ्ग र १२ बर्षीय छोरा शुसान्त गुरुङ्गलाई उद्धार गरिएको हो । गुराँस गाउँपालिका–४का वडाध्यक्ष खड्गबहादुर शाहीले बालक र बालिकाको आमा दोस्रो विवाह गरी गएको र बुबा बेपत्ता भएपछि बेसाहारा बनेका उनिहरु डुङ्गेश्वर बजारको युवक होटलमा बाल श्रमिकको रुपमा काम गर्दै आएको बताए । उनले वडा बाल अधिकार समिति मार्फत बाल श्रमिक बालक र बालिकालाई बाल क्लव र सामाजिक सेवा केन्द्र सोसेको पहलमा उद्धार गरिएको बताए ।
उनले भने वडा कार्यालय बाट बिनियोजन गरेको बाल लक्षित बजेटबाट ३३ हजार रुपैयाँ छुट्याएर उनिहरुलाई खाद्यान्न, लत्ता कपडा उपलब्ध गराईएको छ । वडा कार्यालयले बिनियोजन गरेको एक लाख रुपैयाँ बाल लक्षित बजेटमध्ये जोखिममा रहेका बालबालिकालाई ओड्ने ओछ्याउने कपडा र खाद्यान्न व्यवस्थापन गरी बचेको ६७ हजार रुपिँया वडामा रहेको लक्ष्मी बाल क्लब रतिखोला, सुनगाभा बाल क्लब घोडाबास, नमुना बाल क्लब चिसापानी, लक्ष्मी बाल क्लब गाईबान्ना र बुद्ध बाल क्लब दोवाटोलाई प्रदान गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।