तीन मन्त्रालय नपाए समर्थन फिर्ता लिने
सुर्खेत : कर्णाली सरकार विस्तार कार्य फेरि अन्योलमा परेको छ। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो।
आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री जीवनबहादुर शाही पुन :मन्त्रिपरिषद् विस्तारमा असफल हुने देखिएका छन्। नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री शाहीले बल्ल सरकारलाई पूर्णता दिने तयारी गरेका थिए।
तर, समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि आइतबार मन्त्रिपरिषद् विस्तार नहुने पक्कापक्की भएको हो।
मुख्यमन्त्री शाहीले आइतबार सरकारलाई पूर्णता दिन माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंह, कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही र समाजवादीबाट जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने तयारी गरेको थिए।