Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

समयमै स्थानीय चुनाव नभए एमालेले आन्दोलनको आँधी ल्याउँछ

काठमाडौं  :  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका हुन्।

पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २४औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रीमानहरुले बनाएको वर्तमान सरकारले संविधान र कानुन उल्‍लंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘गठबन्धनकारी सरकार छ। यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन, देखेन, थाहा पाएन। श्रीमानहरुले बनाए। श्रीमान्हरुले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ। यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जन परिचालन हुन्छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुनविपरीत काम गरे सञ्चार माध्यमहरुले पनि विरोध गर्नुपर्ने बताए। उनले पार्टीनिकट सञ्चारकर्मीहरुलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पुर्‍याउने काममा केन्द्रित हुन आग्रह गरे।