Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

चार पालिकामा नागरिक आरोग्य केन्द्र स्थापना


दैलेख  :  चार पालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । जिल्लाको आठबिस नगरपालिका,ठाटिकाँध गाउँपालिका,गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जानकारी दिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख रामप्रसाद महत्त्वले अघिल्लो आर्थिक वर्षमा तीन वटा स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिइरहेको बताउँदै यो आर्थिक वर्षमा चार वटा पालिकामा आरोग्य केन्द्र स्थापना गरिएको बताए ।

उनले आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक कार्यक्रम अनुसार डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, ठाटिकाँध गाउँपालिकाको केन्द्र लकान्द्र, आठविस नगरपालिकाको केन्द्र राकमकर्णालीमा गुराँस गाउँपालिकाको रामिमत्तामा नागरिक अयोग्य केन्द्र स्थापना गरिएको जानकारी दिए । नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारीका रूपमा कार्यरत रहने बताइएको छ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने गरेको निमित्त कार्यालय प्रमुख महत्त्वले जानकारी दिए ।

उनले पछिल्लो समय आयुर्वेद प्रति नागरिकको आकर्षण बढेको बताउँदै स्थानीय स्तरमै पाइने जडीबुटीको उपलब्धता र त्यसको प्रयोगका बारेमा नागरिकलाई सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । आठबिस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले स्थानीय तहमै आयुर्वेद सेवा लिन पाउनु नागरिकका लागि खुसीको खबर भएको बताए । उनले भने अहिले सामान्य बिरामी हुँदा समेत मेडिकलमा जाने नागरिकको बानी भइसकेको बताउँदै त्यसलाई निरुत्साहित पार्दै स्थानीय स्तरमा पाइने जडीबुटीको प्रशोधन बाट निर्माण भएका औषधीको प्रयोग गर्नु पर्दछ ।