खोपको अभिलेख उपलब्ध गराउन मन्त्रालयको निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सवै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको हो।
२४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डिएचआइस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो। यस अघि कोरोनाविरुद्धको २४ लाख डोज खोप हराएको भन्दै मन्त्रालयले हिजोमात्रै छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो।