स्थानीय तहको चुनावको मिति छिटो तोक्न सरकारलाई आयोगको आग्रह
काठमाडौँ : निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको चुनावको मिति तत्काल तोक्ने ताकेता गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले आउँदो वैशाखमा स्थानीय तहको चुनाव गर्नेपर्ने कानुनी बाध्यता रहेको उल्लेख गर्दै चुनावको मिति तोक्न आग्रह गरेको हो।
आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले चुनावको तयारीका लागि कम्तिमा १२० दिने चाहिने र ढिलो हुँदा तयारीमा असर पर्ने भएकाले सरकारलाई छिट्टै चुनावको मिति तोक्ने आग्रह गरेका छन्।
शर्माले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ।’
आयोगले स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ गते सकिनेतर्फ पुनः सरकारको ध्यानाकर्षण गराएको छ। यसअघि सरकार र राजनीतिक दलहरुसँगको छलफलका क्रममा पनि कानुनी र संवैधानिक बाध्यताबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराएको आयोगले उल्लेख गरेको छ।
आयोगले भनेको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारीहरुद्वारा प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई पहिलो पटक मिति २०७८ कार्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्वन्धमा भएका संवैधानिक तथा कानूनी ब्यवस्था वारेमा जानकारी गराइएको र दोश्रो पटक मिति २०७८ पौष ९ गते भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीहरुको पदावधि सम्वन्धी व्यवस्थाको वारेमा जानकारी गराएको छ । आयोगले वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न सुझाव दिएको छ।