अगुल्टोले पोलेको कसूरमा दुई वर्ष कैद
दैलेख : आफुलाई धामी आएको भन्दै श्रीमतीको शरिरमा तातो पानी र अगुल्टोले पोलेको कसुरमा दैलेखमा एक युवकलाई दैलेख जिल्ला अदालतले दुई वर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र १२ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट भैरबी गाउँपालिका–५ गौरीसल्ला २६ वर्षीय पति दीपक नेपालीलाई आफ्नी श्रीमति २६ वर्षीया हस्तना नेपालीलाई पटक पटकको घरेलु हिंसापछि ज्यानै जानसक्नेसम्मको कसूर ठहर गर्दै उक्त फैसला भएको हो ।
२०७८ साउन २१ गते राति दीपकले आफूलाई देउता आएको बाहनामा हस्तना नेपालीको शरीरमा तातो पानी र अगुल्टोले पोलेको घटनामा जिल्ला प्रहरी कार्यालय दैलेखमा साउन २२ गते पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले साउन २२ गते नै पक्राउ गरेको थियो । पतिले तातोपानी र अगुल्टो प्रहार गरेपछि सख्त घाइते भएकी हस्तना नेपाली त्यसबेला उनको दैलेख अस्पतालमा उपचार भएको थियो ।
शरीर पोल्नेसम्मको घटना गराएको भन्ने प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०७८ भदौ १६ गते ज्यानमार्ने उद्योगको अभियोग पेश गरेको थियो । महिला अधिकारीकर्मी सुनिता चन्दले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियाने अन्तिम दिन एक जना घरेलु हिंसा पीडितले न्याय पाएकोमा महिलाहरु खुसी भएको बताए । हस्तना नेपालीका तीन वर्षकी मीना र ८ महिनाकी लक्ष्मी नामका दुई छोरी छन ।