लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान आजदेखि सुरु
दैलेख : लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बिहीवार देखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान शुरु हुने भएको हो ।
संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।
७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएकोले मूल नारा ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ राखिएको राष्ट्रिय महिला आयोगले जानकारी दिएको छ ।
दैलेखमा पनि विभिन्न गैर सरकारी सस्थाको सहयोगमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।