कोभिड–१९ को संकट व्यवस्थापनका बजेट माग
दैलेख : केहि महिना अघिसम्म कोरोना भाइरस संक्रमितको संख्या शुन्य रहेको दैलेख जिल्लामा हाल दिनहुँजसो संक्रमितहरुको संख्या थपिँदै गएको छ । भारत लगायतका मुलुकहरुमा बढी प्रभाव पारेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट तिब्र गति फैलिएपछि कोरोना रोकथामका लागि आवश्यक बजेट माग गरिएको छ ।
मंगलवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका ११ वटै स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र स्वास्थ्य सेवा कार्यालयमा कोरोना भाइरस संक्रमणको परीक्षण, उपचार, रोकथाम र नियन्त्रणका लागि आवश्यक व्यवस्थपकीय कार्यहरु गर्न बजेट अभाव रहेको भन्दै संघीय र प्रदेश सरकारसँग बजेट माग गर्नेै निणर्य गरेको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमा ७५ लाख, स्वास्थ्य सेवा कार्यालयमा ७५ लाख र दैलेखका ११ वटै स्थानीय तहहरुमा ५० लाखका दरले आवश्यक बजेट व्यवस्थापन गरिदिन नेपाल सरकार र कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निणर्य गरेको हो ।
बैठकले कोभिड–१९ को संकट व्यवस्थापनका लागि बजेट अभाव हुन नदिन स्थानीय तहमा चालु आर्थिक वर्षमा सम्झौता भईनसकेका र बजेट फ्रिज हुने खालका योजनाहरुबाट बजेट रकमान्तर गरी कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा खर्च गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, जिसस प्रमुख प्रेमबहादुर थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीको उपस्थितीमा बसेको बैठकले स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहहरुमा दरबन्दी अनुसारका चिकित्सकहरुको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निणर्य समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नाकाहरुमा भारत लगायत जिल्ला बाहिरबाट आउने शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न व्यवस्था मिलाउने ब्यबस्था गर्न स्थानीय तह सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । उनले प्रत्येक स्थानीय तहमा तत्काल अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गर्न र यहि बैशाख २६ र २७ गते हुन लागेको दैलेख उद्योग बाणिज्य संघको अधिवेशन तथा निर्वाचनलाई कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी अधिवेशन र निर्वाचन स्थगित गर्न निर्देशन दिएको बताए ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संङक्रमण तिब्र रुपमा बढेको भन्दै सेवा प्रवाह बन्द गर्ने निर्ण समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी प्याकुरलेले शान्ती सुरक्षा विपद ब्यवस्थापन र मुद्धा बाहेक सबै सेवा बन्द गरिएको बताए ।