फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार सांसद पदमुक्त
सुर्खेत : फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन्। पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा पदमुक्त भएका हुन् । चारैजना एमालेबाट निर्वाचित सांसद हुन। चारैजनाले वैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुर्नगठन गर्दै एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीनजनालाई मन्त्री बनाइएका थिए। एमालेका सांसद अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्रीको जिम्मेवारी दिएका थिए।मुख्यमन्त्री शाहीले अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए। ज्वालालाई भने कुनैपनि जिम्मेवारी दिएको छैन। सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेशसभा सांसदको संख्या ३५ मा झरेको छ । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।