राउटेका लागि छुट्टै समिति निर्माण गर्ने तयारीमा प्रदेश सरकार


सुर्खेत : जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठनको तयारी थालेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताए ।
‘नेपालको एक मात्रै घुमन्ते लोपोन्मुख राउटे समुदायको संरक्षणको दायित्व राज्यको हो,’ सोमबार राउटे मुखियाहरुसँगको छलफलमा उनले भने, ‘छिट्टै समिति गठन गरेर त्यसैमार्फत काम सुरु गछौं ।’ प्रदेश सरकारले राउटे समुदायलाई संघले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा प्रतिव्यक्ति दुई हजार रुपैयाँ थप्ने निर्णय गरिसकेको छ ।
मुख्यमन्त्री शाहीले राउटे समुदायको सुरक्षाका लागि तत्काल प्रहरी परिचालन गरिने पनि बताए । उनले कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बशन्तकुमार पन्तलाई फोन गरेर राउटे समुदाय रहेको स्थानको सुरक्षाका लागि प्रहरी खटाउन आग्रह गरे । अत्याधिक मदिराका कारण राउटे समुदायको जनसंख्या घट्दै गएकाले प्रहरी परिचालन गरेर मदिरा नियन्त्रण र बस्तीको सुरक्षा गर्न लागिएको मुख्यमन्त्री शाहीको भनाई छ ।
‘राउटे समुदाय जहाँजहाँ जान्छ नजिकको सुरक्षा युनिटले बस्तीको सुरक्षासँगै मदिरा नियन्त्रणको काम पनि गर्छ,’ उनले भने, ‘अव राउटे समुदायलाई मदिरा विक्री गर्नेलाई कारवाही गछौं ।’ उनले मदिरा नियन्त्रण गर्न सकेको खण्डमा राउटे समुदायका अहिले देखिएका धेरै समस्याहरु समाधान हुने बताए । साभार नागरिक

