सामुहिक गिरफ्तारको माग गर्दै प्रदर्शन


दैलेख : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकार माथि भइरहेको धरपकडको विरोधमा दैलेखका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय दैलेखमा प्रदर्शन गरेका छन् । ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
सरकारले स्थानीय संचारमाध्यमले लोककल्याणकारी बिज्ञापन प्रकाशन गरे वापत पाउने रकममा भारी रुपमा कटौती, समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐन सम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको, सञ्चार माध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको, पत्रकारको जबरजस्ती निष्कासन र श्रम अधिकार उल्लंघन भएको लगायतका विषय उठाउँदै पत्रकारहरु आन्दोलित भएका हुन् ।
प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड हुनु प्रेस माथिको हस्तक्षेप भएको बताए । यस्ता गतिविधि रोक्न र पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गर्न महासंघले थालेको आन्दोलन अहिले झनै आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल शर्माले पत्रकारिता स्वतन्त्र र सुरक्षित भए मात्रै नागरिकले सही सूचना पाउने बताए । उनले पत्रकारमाथिको धरपकड, सञ्चार माध्यममा हस्तक्षेप र श्रम अधिकार उल्लंघन विरुद्ध दैलेख शाखा केन्द्रीय आन्दोलनसँगै उभिएको भन्दै माग सम्बोधन नभए महासंघ थप संघर्षमा जान तयार रहेको बताए ।
नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुरागले पत्रकारलाई समाचार लेखेकै आधारमा दबाब दिने, धरपकड गर्ने र श्रम अधिकारबाट वञ्चित गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । उनले नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा नेपाल प्रेस युनियन लगायत अन्य संघ संगठनको समेत पुर्ण साथ रहेको बताए ।

