‘बाढीपीडितलाई सहयोग गरौँ’

कमल शर्मा
दैलेख : दमाहाको तालमा हली, रोपार, सरदार–सरदार्नी अगाडि बढिरहेका थिए । कोही नाच्दै थिए, कोही गाउँदै । वरिपरि रोपाइँ जात्राको रौनक थियो । तर, यही भीडमा सहभागी स–साना बालबालिकाले भने छातीमा टाँसेका प्लेकार्डमार्फत छुट्टै सन्देश दिइरहेका थिए—‘बाढीपीडितलाई सहयोग गरौँ ।’
जात्राको रंगमा रंगिएका बालबालिकाको अनुहारमा खुसी थियो, तर छातीमा टाँसिएका प्लेकार्डमा भने अरूको दुःखप्रतिको संवेदना । जात्रा रमाइलोको थियो, तर बालबालिकाले बोकेको सन्देश मानवीयताको थियो । रसुवामा आएको बाढीका कारण समस्यामा परेका नागरिकलाई सहयोगको अपिलको आग्रह गर्दै उनीहरू जात्रामा हिँडिरहेका थिए ।
दमाहाको ताल, नाचगान र हली–रोपारको भेषमा सजिएका सहभागीबीच बालबालिकाका छातीमा टाँसिएका प्लेकार्डले धेरैको ध्यान खिच्न सफल भएको थियो नारायण नगरपालिका –१ नयाँ बजारका स्थानीय मनोज थापाले भन्नुभयो उमेरले साना भए पनि उनीहरूले बोकेको सन्देश भने ठूलो थियो। जात्राको रौनकमा रमाइरहेका उनीहरूले बाढीबाट प्रभावित नागरिकको पीडा सम्झाउँदै सहयोगका लागि आह्वान गरिरहेका थिए।
रोपाइँ जात्रा दैलेखको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो । दमाहाको तालमा हली, बाउसे, गोरु, गोसाईं, रोपार र रोपार्नीका रूपमा सहभागी हुने, नाच्ने–गाउने र आफ्ना सरदार अथवा राजालाई प्रफुल्ल बनाउने परम्परा यस जात्रासँग जोडिएको छ । रोपाइँ सकेपछिको थकान बिर्साउँदै सामूहिक रूपमा खुसी साट्ने र मनोरञ्जन गर्ने अवसरका रूपमा पनि जात्रा मनाइन्छ ।
न्यु ज्वाला क्लवका अध्यक्ष बिशाल सुनारले भन्नुभयो रोपाइँ जात्रामा नाचगान र मनोरञ्जनसँगै समसामयिक घटना, सामाजिक समस्या, व्यङ्ग्य, अभिनय, सूचना र सन्देशलाई समेत जात्राका माध्यमबाट प्रस्तुत गर्ने चलन भएको बताउनुभयो । उहाँले बालबालिकाले बोकेको सन्देशले बाढी प्रभावित नागरिकका लागि सहयोग जुटाउने अभियानमा समेत सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो देश वा देशमा बसोबास गर्ने नागरिक चरम संकटमा परेको अबस्थामा बालबालिकाले सामाजिक विषयप्रति देखाएको चासो र संवेदनशीलताले अन्य युवालाई समेत सहयोग अभियानमा जोडिन प्रेरित गर्ने उहाँको भनाइछ ।
एकातिर दमाहाको तालमा दैलेखको मौलिक संस्कृति र परम्परा झल्किरहेको थियो भने अर्कोतिर बालबालिकाका छातीमा टाँसिएका सन्देशले विपदमा परेकाप्रति सहानुभूति, सहयोग र मानवीय एकताको आवाज बोलिरहेको एभरेष्ट क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो रोपाइँ जात्रामा दैलेखको संस्कृति र परम्परा मात्रै प्रस्तुत भएन, नयाँ पुस्ताले समाजप्रतिको आफ्नो जिम्मेवारी र संवेदनशीलता पनि देखायो । जात्राको भीडमा बालबालिकाले बोकेको त्यो सानो प्लेकार्डले दिएको सन्देश भने ठूलो थियो—खुसी हामीले मात्र होइन, विपद्मा परेकासँग पनि बाँड्नुपर्छ ।


