बाढीको उच्च जोखिममा दैलेखका अधिकांश बजार


कमल शर्मा
दैलेख : दैलेखमा दश घण्टा देखी लगातार भइरहेको वर्षाका कारण जिल्लाका अधिकांश बजार बाढी तथा डुबानको उच्च जोखिममा परेका छन् । लामो समयदेखि वर्षा भइरहेकाले खोला, नदी तथा खहरेमा पानीको बहाव बढ्न थालेपछि दैलेख जिल्लाका अधिकाँस नदि किनारका बजार क्षेत्रहरुमा जोखिम बढेको हो । नौमुले गाउँपालिकाको नौमुले बजार, भगवतीमाई गाउँपालिकाको बेस्तडा बजार, दुल्लु नगरपालिका तथा गुराँस गाउँपालिका क्षेत्रमा पर्ने तल्लोडुङ्गेश्वर बजार, डुङ्गेश्वर गाउँपालिकाको चुप्रा र माथिल्लो डुङ्गेश्वर बजार, भैरवी गाउँपालिकाको छामघाट बजार, नारायण नगरपालिकाको लोहोरे बजार, आठबीस नगरपालिकाको राकम कर्णाली बजार, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको पाल्तडा बजार र ठाटीकाँध गाउँपालिकाको रामघाट बजार बाढीको जोखिममा रहेका छन्।
लामो समयसम्म पानी परिरहँदा खोला तथा नदीको जलस्तर बढ्ने र आसपासका बस्ती तथा बजार क्षेत्रमा पानी पस्ने जोखिम बढेको हो । विशेषगरी नदी तथा खोलाको आसपासमा रहेका बजारमा वर्षायाममा बाढी, कटान र डुबानको जोखिम बढी हुने गरेका छ । ठाटीकाँध गाउँपालिकाको रामघाट बजार विगतमा पनि बाढीको ठूलो जोखिममा परेको क्षेत्र हो । कर्णाली नदिको बहाव बढेर बस्तीतीर पस्ने र खहरे खोला बढेर बस्तीलाई क्षती पु¥याउन सक्ने जोखिम बढेको स्थानीयले बताएका छन ।
दैलेखका अन्य जोखिमयुक्त बजारमा पनि नदी तथा खोलाको बहाव बढेपछि व्यापारिक क्षेत्र र आसपासका बस्ती प्रभावित हुन सक्ने अवस्था छ । बजार क्षेत्रमा मानिसको बाक्लो बसोबाससँगै पसल तथा व्यवसाय सञ्चालन हुने भएकाले बाढी पसेमा मानवीयसँगै ठूलो आर्थिक क्षति हुने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवण कुमार बिकले लगातार भइरहेको बर्षातका कारण कुनै मानविय क्षतीहुन नदिन बिभिन्न बजार क्षेत्रमा सचेत रहन आग्रह गरिएको बताउनुभयो । उहाँले पानीको बहाव बढ्ेर बस्ती जोखिम पार्न सक्ने क्षेत्रका नागरिकहरु सचेत भएर बस्न आग्रह गरिएको बताउनुभयोे । उहाँले भन्नुभयो दैलेखमा रहेको ११ स्थानीय तहका केन्द्र रहेका बजार तथा कर्णाली राजमार्गमा रहेका बजार क्षेत्रमा बढि जोखिम छ ।
लगातारको बर्षातका कारण ग्रामीण सडक, पुल, विद्युत् प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारीका लागी स्थानीय तहलाई सचेतता पुर्वक लाग्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख । जिल्ला अधिकारी महेन्द्रजंग शाहीले सम्भावित बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको निगरानी बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो जिल्ला बिपद ब्यवस्थापन समिति मार्फत ११ स्थानीय तहका जनप्रतिनिधिलाई राखेर विपदको तयारी अबस्थामा रहन अनुरोध गरिएको छ ।
दैलेखमा बाढीको जोखिममा रहेका बजारको संख्या र विगतमा भएका क्षतिको अवस्थालाई हेर्दा वर्षा सुरु हुनुअघि नै पूर्वसूचना प्रणाली, उद्धार सामग्री तथा सुरक्षित स्थानको पहिचानसहितको पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयले माग गरेका छन । चामुण्डाबिन्द्रासैनी नगरपालिका –९ का वडाध्यक्ष प्रेम रावलले स्थानीय तहले विपदका लागी आवश्यक पर्ने साधनहरु तयारी अबस्थामा राख्न सकेको खण्डमा विपदको समयमा समयमै उद्धार कार्य गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो अघिल्लो पटक कर्णालीमा गाडी खस्दा १२ घण्टापछि मात्र उद्धार टोली आएको थियो । जसले गर्दा उद्धारमा निकै कठिन भएको स्मरण गर्नुभयो ।

