Loading... आजः सोमवार, जेष्ठ ४, २०८३
Trending

पञ्चकोशी धार्मिक मेलामा २० हजार श्रद्धालु सहभागी

दैलेख  :  दैलेखको पञ्चकोशी क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित पञ्चकोशी धार्मिक पर्यटन मेलामा २० हजारभन्दा बढी श्रद्धालु तथा पर्यटक सहभागी भएका छन् । वैशाख १३ गतेदेखि १९ गतेसम्म नाभिस्थानमा सञ्चालन गरिएको मेलामा जिल्लाभित्र र बाहिरका २० हजारभन्दा बढी श्रद्धालु सहभागी भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
पञ्चकोशी क्षेत्र विकास संस्था का अध्यक्ष नबिन योगीले दैलेखको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको पञ्चकोशी क्षेत्रलाई देशभर परिचित गराउँदै धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । उहाँले छोटो समयमै ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्राउन सफल भएको दाबी गर्नुभयो । अध्यक्ष योगीका अनुसार मेलामा भारत सरकारका पूर्वसचिव तथा विभिन्न धर्मगुरुको सहभागिता रहेको थियो । मेलामा पूजा–आराधना, भजनकीर्तन, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत राखिएको थियो । उहाँले पञ्चकोशी क्षेत्र धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पर्याप्त प्रचारप्रसार अभावका कारण अपेक्षित रूपमा पर्यटक भित्रिन नसकेको अवस्थामा यो मेला महत्वपूर्ण बन्न पुगेको बताउनुभयो ।
मेलामा १५ लाख ८५ हजार ६६३ रुपियाँ आम्दानी भएकोमा १५ लाख ७३ हजार ४९२ रुपियाँ खर्च भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार बचत रकम पञ्चकोशी क्षेत्रको धार्मिक तथा पर्यटन प्रवद्र्धनमै खर्च गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै दुल्लु नगरपालिका–१० का वडाध्यक्ष एवं दुल्लु नगरपालिकाका प्रवक्ता दिपेन्द्र पुरीले पञ्चकोशी क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सडक, खानेपानी, बसोबास तथा सूचना केन्द्रजस्ता पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले “यो पहिलो सुरुवात हो, यसलाई अझ व्यापक बनाएर लैजान्छौँ,” भन्नुभयो ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अम्मर सुनारले ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको पञ्चकोशी क्षेत्रलाई देशभर परिचित गराउन सञ्चारमाध्यमले सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सम्मानसमेत गरिएको थियो ।