Loading... आजः आइतवार, जेष्ठ ३, २०८३
Trending

अमेरिकामाथि नेपाललेको शानदार जित


काठमाडौँ  :  आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई नौ विकेटले हराएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट शतक बनाउनुभयो । भने अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाउनुभयो ।

 

टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा पूरा गरेको हो । नेपालका लागि भुर्तेलले ११८ बलको सामना गर्दा चार छक्का र १३ चौकाको मद्दतमा नटआउट १२० रन बनाउँदै शतकीय पारी खेल्नुभयो । अर्का ओपनर शेखले ७२ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेल्नुभएको थियो ।

नेपाल, अमेरिका र स्कटल्यान्डबिचको जारी शृङ्खलामा योसँगै तीन खेल सकिएका छन् । एक खेलमा नेपाल विजयी हुँदा दुई खेलमा स्कटल्यान्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्यान्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

आइसिसी क्रिकेट विश्वकप लिग २ को तालिकामा २६ खेल खेल्दा सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।

साथै अमेरिका २६ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड पहिलो स्थानमा छ । स्कटल्यान्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।