कर्णालीका सम्भावनालाई विश्वसामु उजागर गर्न समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा रहेका बहुआयामिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न परराष्ट्र मन्त्रालयअन्तर्गतका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । मंगलबार परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले सुर्खेतमा आयोजना गरेको ‘निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन’सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्णालीका सम्भावनालाई विश्वसामु उजागर गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, धार्मिक स्थल तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्तै सम्भावनायुक्त प्रदेश भए पनि आवश्यक प्रचार–प्रसार र पहुँचको अभावका कारण पछि परेको उल्लेख गर्नुभयो । उहाँले विदेशमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई कर्णालीको पहिचान र सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष पहल गर्न आग्रह गर्नुभयो ।
“हाम्रा दूतावासहरूले कर्णालीका पर्यटकीय गन्तव्य, कृषि उत्पादन, जडीबुटी तथा सम्भावित लगानीका क्षेत्रबारे विश्वलाई जानकारी गराउन सक्नुपर्छ,” उहाँले भन्नुभयो यसले निर्यात वृद्धि, विदेशी लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धनमा ठोस योगदान पुर्याउन सक्छ ।” उहाँले कर्णालीमा जलस्रोत, कृषि, जडीबुटी, पर्यटन तथा खनिज क्षेत्रहरूमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । साथै, निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री कँडेलले विगतमा केन्द्र सरकारले कर्णालीप्रति विभेद गरेको बताउनुभयो । उहाँले सोही कारण प्रदेश विकासमा पछि परेको दाबी गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिन सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।


