शेरबहादुर देउवा दम्पती बिरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंका दुई अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरिएको जानकारी दिनुभयो ।
योसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियो । गृह स्रोतका अनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ ।
सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् ।
फागुन १३ मा देउवा सिंगापुर जानुभएको थियो । त्यसअघि नै पत्नी आरजु भारत हुँदै सिंगापुर पुग्नुभएको थियो ।

