ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ। यसअघि उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो। लिखित जवाफ पेशभएसँगै आइतबार सुनुवाइका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
जेनजी आन्दोलनका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ। प्रकाउ परेका ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहनुभएको छ । गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ। आयोगले उनीहरूविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको छ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

