पाँच वर्षमा ८ सय ५२ बलात्कारका घटना, ८ जनाको हत्या


सुर्खेत : कर्णाली प्रदेशमा पछिल्ला पाँच वर्षमा बलात्कारका घटना बढ्दो क्रममा देखिएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णालीका १० जिल्लामा पाँच वर्षको अवधिमा ८ सय ५२ वटा बलात्कारका घटना भएका छन् भने बलात्कारपछि ८ जनाको हत्या भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ भानुचोककी २४ वर्षीया रिचा पुन मगरको अपहरणपछि बलात्कार गरी हत्या गरिएको घटना यसैको एक उदाहरण हो । २०७८ साल असोज २६ गते प्यूठानका ४० वर्षीय वीरेन्द्र गिरीले रिचालाई वीरेन्द्रनगरबाटै अपहरण गरी शरीर बन्धक बनाएर बलात्कारपछि हत्या गरेको आरोप लागेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गिरीले रिचाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थिए ।
यस्तै सुर्खेतको लेकबेशी नगरपालिका–१ ढावखर्ककी ७ वर्षीया मनिषा सुनारलाई स्थानीय तीन जना युवकले सामूहिक बलात्कारपछि हत्या गरेका थिए । बलात्कारपछि हत्या गर्नेमा लेकबेशीकै प्रकाश सुनार, सन्तोष सुनार र विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तीनै जनालाई प्रहरीले अनुसन्धान तथा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १५५, २०७९/०८० मा २०७, २०८०/०८१ मा २०९, २०८१/०८२ मा १७४, २०८२/ ०८३ मा १०७ वटा बलात्कारका घटना दर्ता भएका छन् भने ६ जनाको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यस्ता घटनाहरू धेरै समयसम्म लुकेर बस्न नसक्ने हुँदा उजुरीको संख्या बढेको देखिएको छ । साथै सामाजिक सञ्जालको दुरुपयोगले पनि यौन हिंसाका घटना बढ्दै गएको प्रहरीको भनाइ छ । यसैबीच, वीरेन्द्रनगर नगरपालिका ११ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । परिवारको जाहेरीपछि बाँकेको भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्य नेतृत्वको टोलीले कर्णाली प्रदेश अस्पताल पुगेर इनिसाको शव परीक्षण गरेको थियो । परीक्षण प्रतिवेदनमा बलपूर्वक करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।साभार कान्तीपुर

