नेपाली काँग्रेसका सुभेछुकले पाए दश वर्षपछि आफ्नै उम्मेदवार


दैलेख : दश वर्ष लामो प्रतिक्षापछि दैलेखमा नेपाली काँग्रेसका कार्यकर्ताले आफ्नै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उभिन पाउने भएका छन् । गठबन्धनको नाममा बारम्बार आफ्नो निर्वाचन क्षेत्र अरू दललाई छोड्दै आएको काँग्रेस यसपटक भने आफ्नै उम्मेदवारसहित चुनावमा होमिएको छ । २०७० सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग चुनावी गठबन्धन गर्दै दैलेख निर्वाचन क्षेत्र छोडेको नेपाली काँग्रेसले २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत नेकपा एकीकृत समाजवादीलाई क्षेत्र सुम्पिएको थियो । त्यसयता काँग्रेसका कार्यकर्ताले पटक–पटक आफूले नचिनेको चुनाव चिह्नमा मतदान गर्नुपरेको पीडा भोग्दै आएका थिए । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि आफ्नै पार्टीबाट उम्मेदवार बन्न पाइने–नपाइने विषयमा चर्चा थियो । तर नेपाली काँग्रेसको विधान महाधिवेशनपछि आएको नयाँ नेतृत्वले गठबन्धन नगर्ने स्पष्ट निर्णय गरेपछि दैलेखमा काँग्रेसले दश वर्षपछि आफ्नै उम्मेदवार पाएको हो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा साविक मध्यपश्चिम विकास क्षेत्रबाट नेपाली काँग्रेसले जितेको एक मात्र निर्वाचन क्षेत्र दैलेख निर्वाचन क्षेत्र नं. १ थियो । सो निर्वाचनमा काँग्रेसका स्वर्गीय नेता गणेश बहादुर खड्का विजयी हुनुभएको थियो । तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीभित्रकै असन्तुष्टिले काँग्रेस कमजोर बन्यो । गणेश बहादुर खड्कालाई टिकट दिँदा काँग्रेसकै नेता नरसिंह मल्ल बागी बनेपछि उक्त निर्वाचनमा नेकपा एमाले विजयी भयो । त्यसयता भएका प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले कहिले राप्रपा नेपालका उम्मेदवारलाई त कहिले एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्दै आफ्नै उम्मेदवारबाट वञ्चित भएका थिए । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका महाधिवेशन प्रतिनिधि बासना थापालाई उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसका नेता भुपेन्द्र शाहीका अनुसार यो निर्वाचन काँग्रेस कार्यकर्ताका लागि भावनात्मक रूपमा विशेष छ । “दश वर्षपछि आफ्नै पार्टीको उम्मेदवार र आफ्नै चुनाव चिन्हमा मतदान गर्न पाउने अवसर आएको छ,” उहाँले भन्नुभयो, “निर्वाचनको समयमा हाम्रो क्षेत्र अरू दलको भागमा पारिँदा आजित भएका काँग्रेसका शुभेच्छुक कार्यकर्तालाई यसले नयाँ उत्साह दिएको छ ।” उहाँका अनुसार चुनावमा जित–हार स्वाभाविक प्रक्रिया हो । “हार–जित जे भए पनि आफ्नै पार्टीको चिन्हमा मतदान गर्न पाउनु नै ठूलो कुरा हो,” उहाँले भन्नुभयो । गठबन्धनको राजनीतिमा हराउँदै गएको आफ्नोपन खोज्दै दैलेखमा नेपाली काँग्रेस यसपटक केवल जितको लागि मात्र होइन, आफ्नो पहिचान पुनः स्थापित गर्न चुनावी मैदानमा उत्रिएको देखिन्छ शाहीले भन्नुभयो ।
नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नः २ मा २०६४ सालको पहिलो संबिधान सभा यता भएका निर्वाचन मध्ये २०७९ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन जितेको थियो । प्रतिनिधि सभामा दिक्पाल कुमार शाही र प्रदेश सभा सदस्यमा घनश्याम भण्डारी निर्वाचित हुनुभएको थियो । निर्वाचन क्षेत्र न ः २ मा २०६४ साल देखी नियमित उम्मेदवार उठाउँदै आएको थियो ।

