क्यान्सर जितेर मानवता र आशाको साइकल यात्रा


कमल शर्मा
दैलेख : काठमाडौं बसन्तपुरकी ४८ वर्षीया कविता चित्रकारको जीवन २०७९ सालमा अचानक बदलियो । स्तन दुखीरहने समस्याको उपचारका लागि चिकित्सकको परामर्शमा जाँदा तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिइयो । चिकित्सकले नै उपचार सम्भव नभएको बताउँदै छ महिना आयु तोकिदिए । उपचारको क्रममा स्तन नै काट्नुपर्ने अवस्था आयो । आठ पटक किमोथेरापी र रेडियोथेरापीपछि आज पनि उहाँ नियमित उपचाररत हुनहुन्छ । उहाँ क्यान्सर रोगसँग हार नमानेर साइकल यात्रामा हुनुहुन्छ । कविताका लागि क्यान्सर नयाँ पीडा होइन। २०७० सालमा आमालाई र त्यसको तीन वर्षपछि दिदीलाई क्यान्सरकै कारण गुमाएको अनुभवले उहाँको जीवन निरन्तर संघर्षको कथा बनेको छ । तर उहाँले कहिल्यै हिम्मत हार्नुभएको छैन । भन्नुहुन्छ एकदिन सबैको मुत्यु सत्य छ बोनसको जीन्दगी लाई खुसी भएर बाच्नुपर्छ ।
उपचारको क्रममा मानसिक स्वास्थ्यमा असर पर्न थालेपछि उहाँका एक हितैषीले उपाय सुझाए—“साइकल चलाऊ, बाहिर निस्क।” सानै उमेरदेखि साइकल यात्रा मन पराउने कविता चित्रकारले साइकललाई उपचार र हौसला दिने माध्यम बनाउनुभयो । पैडल घुमाउँदा डर, पीडा र निराशा बिस्तारै पछाडि हट्न थाल्यो ।
साइकलसँगै उहाँको जीवनमा नयाँ ऊर्जा जाग्यो । आज उहाँ केवल आफ्नो जीवनमा मात्र होइन, अन्य क्यान्सर पीडितका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको छ । कविता भन्नुहुन्छ “साइकल यात्रा मार्फत मैले देखाएको साहस, हरेक क्यान्सर पीडितका लागि प्रेरणा हो । यो केवल मेरो यात्रा होइन—यो हाम्रो सबैको यात्रा हो । हामीले सक्दो सहयोग गरेर अरूको जीवन उज्यालो बनाउन सक्छौ ं।”
कविता अब केवल व्यक्तिगत साहस देखाउने मात्र होइनन् । उहाँ र सिन्धुपाल्चोकका हर्क लामाको अगुवाइमा टोलीले क्यान्सर पीडितका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य लिएर पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाट सम्मको साइकल यात्राको क्रममा दैलेख पुग्नुभएको छ ।
क्यान्सर जित्नुभएका हर्क लामा भन्नुहुन्छ “हामीले जितेको साहस र जीवनको अनुभव अरूलाई देखाउन र प्रेरित गर्न आएको हो । यो केवल साइकल यात्रा होइन, मानवता र आशाको अभियान हो ।”टोलीमा आठ जना साइकल यात्री, चिकित्सक र वृत्तचित्र छायाङ्कन गर्ने सदस्यहरू छन्। उनीहरूले प्रत्येक स्टपमा स्थानीय विद्यालयमा पुगेर विद्यार्थीलाई क्यान्सर विरुद्ध सचेतना फैलाउने काम गर्दै आएका छन ्।
धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले भन्नुभयो “यो अभियान केवल आर्थिक सहयोग जुटाउने मात्र होइन । यसले क्यान्सर पीडितलाई आत्मबल, आशा र हौसला दिने काम गर्छ । हामीले अक्षयकोष मार्फत विपन्नलाई निशुल्क उपचार सेवा दिनेछौं।” धुलीखेल अस्पतालमै कार्यरत ढाडरोग विशेषज्ञ डा विकास पराजुलीले क्यान्सर पीडितको उपचार सहयोगार्थ यो साइकल यात्रा सुरु गरिएको हो । धुलिखेल अस्पतालका निर्देशक रामकण्ठ मकाजुले पनि अस्पतालले संकलित रकम बराबर सहयोग गर्ने प्रतिबद्धता जनाए पछि बिरामीका लागी कोष स्थापना उद्देश्यले आफुहरु हिडेको बताउनुभयो । उहाँले भन्नुभयो हाम्रो टोलीले साइकल यात्रा गर्दा आर्थिक रूपमा विपन्न भएका क्यान्सर पीडितको उपचारमा सहयोग पुग्छ भने किन नगर्ने भनेर साइकल यात्रामा निस्किीएको उहाँको भनाइछ । साइकलका पाङ्ग्राले घुमिरहँदा केवल दूरी नापिएको छैन, क्यान्सर पीडितका लागि आशा, साहस र मानवताको संदेश प्रवाहित भइरहेको डा ताम्राकारको भनाइछ ।

