Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

पहिलेका सहकर्मी, अहिलेका प्रतिस्पर्धी


कमल शर्मा
दैलेख :  नेकपा एमालेका संस्थापक नेता रबिन्द्रराज शर्मा र नेपाली कम्युनिष्ट पार्टीबाट दैलेख निर्वाचन क्षेत्रका उम्मेदवार अम्मर बहादुर थापा कुनै समय एउटै पार्टीका सहकर्मी हुनुहुन्थीयो । तर समयक्रमसँगै उहाँहरू आज प्रत्यक्ष प्रतिस्पर्धी बन्नुभएको छ । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले शर्मा र थापा दुबैको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको थियो । सर्वसम्मत सिफारिसपछि पार्टीले अम्मर बहादुर थापालाई उम्मेदवार बनायो ।
२०७० सालको संविधानसभा सदस्य निर्वाचनका लागि एमाले निर्वाचन क्षेत्रीय कमिटीमा भएको निर्वाचनमा रबिन्द्रराज शर्मा पहिलो र अम्मर बहादुर थापा दोस्रो हुनुभएको थिए । सोही आधारमा पार्टीमा सिफारिस गरी पठाएपनि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले आफू निकट मानिएका थापालाई उम्मेदवार बनाएपछि थापाले पुनः टिकट पाउनुभयो । सो निर्वाचनमा थापा विजयी हुनुभयो । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनः शर्मा र थापा दुबै जना जिल्लाबाट सिफारिस हुनुभयो । पार्टीले शर्मालाई प्रतिनिधिसभा सदस्य र थापालाई प्रदेशसभा सदस्यमा टिकट दियो । उक्त निर्वाचनमा दुबै जना आ–आफ्नो तहमा विजयी हुनुभयो । तर प्रदेशसभामा निर्वाचित भएका थापाले कर्णाली प्रदेश सरकारमा मन्त्री नपाएको असन्तुष्टिमा पार्टी परित्याग गर्दै ‘फ्लोर क्रस’ गरेपछि दुई सहकर्मीबीचको राजनीतिक यात्रामा विराम लाग्यो ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई पूर्व सहकर्मी प्रत्यक्ष प्रतिस्पर्धी बन्नुभयो । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बन्नुभएका थापा निर्वाचित हुनुभयो भने रबिन्द्रराज शर्मा पराजित हुनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा पुनः शर्मा नेकपा एमाले र थापा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेपछि उनीहरूबीच पुनः प्रतिस्पर्धा हुने निश्चित भएको छ । अघिल्लो निर्वाचनमा गठबन्धन हुँदासमेत ४४० मतको झिनो अन्तरले विजयी भएका थापा यसपटक एक्लै निर्वाचन लड्दा त्यति उत्साही देखिनुभएको छैन । उता शर्मा भने तीन दलको गठबन्धन हुँदासमेत थोरै मतले पराजित भएको उल्लेख गर्दै एमालेको मत यथावत् राख्न सके आफू विजयी हुने दाबी गर्नुहुन्छ ।
त्यस्तै दैलेख निर्वाचन क्षेत्र नं. २ मा पनि एमालेका पूर्व सहकर्मीबीच नै प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेबाट पूर्व संविधानसभा सदस्य लक्ष्मी प्रसाद पोखरेल र नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरले लाई जिताउन महत्वपूर्ण भूमिका खेलेका शाही यसपटक आफैं उम्मेदवार बनन्नुभयो छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुँदा नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीसँग ८० मतको अन्तरले पराजित हुनुभएका एमालेका लक्ष्मी प्रसाद पोखरेल पुनः चुनावी मैदानमा उत्रिनुभएका छ ।
योगेन्द्र शाहीले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि एमालेकै सिफारिसमा कर्णाली प्रदेश योजना आयोगको सदस्यको जिम्मेवारी पाउनुभएको थियो । २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न चाहँदा टिकट नपाएपछि उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरी उम्मेदवार बन्नुभयो तर एमालेका विनोद कुमार शाहसँग पराजित हुनुभयो । पछि माओवादी केन्द्रले शाहीलाई कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले योगेन्द्र शाहीलाई उम्मेदवार बनाएपछि दैलेख क्षेत्र नं. २ मा पनि पूर्व सहकर्मीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।्