निर्वाचन लक्षित गर्दै रास्वपाको संगठन विस्तार अभियान


दैलेख : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ । पार्टीले जिल्लाका ११ वटै स्थानीय तहका ९० वटै वडामा वडा भेला तथा वडा अधिवेशनको प्रक्रिया अघि बढाएको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखका जिल्ला सभापति मित्रबहादुर प्याकुरेलले पार्टीलाई तल्लो तहदेखि नै व्यवस्थित र सक्रिय बनाउने उद्देश्यसहित वडा केन्द्रित अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले वडा तहमा संगठन सुदृढ भए मात्र निर्वाचन अभियान प्रभावकारी हुने विश्वास पार्टीले लिएको बताउनुभयो ।
“जिल्ला समिति निर्वाचनलाई मर्यादित, समावेशी र संगठनात्मक रूपमा बलियो बनाउने लक्ष्यसहित हामी वडा तहसम्म पुगेका छौँ,” सभापति प्याकुरेलले भन्नुभयो, “वडा भेलामार्फत स्थानीय कार्यकर्ता, युवाहरू र नयाँ सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, विचार र भावी कार्यदिशाबारे छलफल भइरहेको छ।”
पार्टीले संगठन विस्तारसँगै जनसम्पर्क अभियानलाई पनि सँगसँगै अघि बढाएको जनाएको छ । वडा भेलाका क्रममा स्थानीय समस्या, सुशासन, सेवा प्रवाह, रोजगारी र विकासका विषयमा छलफल गर्दै नागरिकका सुझाव संकलन गर्ने काम भइरहेको बताइएको छ। रास्वपाले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक र जिम्मेवार शैलीमा राजनीति गर्ने दाबी गर्दै स्थानीय तहबाटै पारदर्शी र जवाफदेही संगठन निर्माणमा जोड दिएको छ ।
प्रतिनिधि सभा सदस्यमा सामानुपाति तर्फ खस आर्य बाट उम्मेदवार रहनुभएका जिल्ला सभापति प्याकुरेलका अनुसार दैलेख जिल्लाका दुवै निर्वाचन क्षेत्रका लागि निर्वाचन परिचालन समितिको संयोजकमा क्रमशः एनेबहादुर शाही र बिनि शाहीलाई चयन गरिएको छ । उहाँले दैलेख जिल्लाबाट पार्टी सदस्यता लिनेको संख्या करिब साढे ६ हजार नजिक पुगेको जानकारी दिनुभयो। तीमध्ये करिब २ हजार ५ सय सदस्य अनलाइनमार्फत भेरिफाइड भइसकेका छन् भने बाँकीको प्रक्रिया जारी छ।
पुराना राजनीतिक दलहरूले जनताले दिएको अभिमतको सही सदुपयोग गर्न नसक्दा नागरिकमा नयाँ राजनीतिक शक्तिप्रति विश्वास बढ्दै गएको सभापति प्याकुरेलको दाबी छ ।

