Loading... आजः शनिबार, पुस २६, २०८२
Trending

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल


सुर्खेत : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताउनुभएको छ । बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’’

भर्खरै भएको जेनजी जन–आन्दोलनले गर्दै अहिलेका युवा पुस्तालाई यसले युवाहरुको राजनीतिमा मूल प्रवाहीकरण गरेको र अब पनि उनीहरुलाई ब्याइपास गरेर जान नसकिने धारणा मन्त्री अर्यालले राख्नुभयो । आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न नहुने मन्त्री अर्यालले बताउनुभयो ।

कर्णाली प्रदेश भौगोलिक रूपमा विकट, संवेदनशील र रणनीतिक महत्त्व बोकेको क्षेत्र भएको र यस आजको सुरक्षा गोष्ठीमा कर्णाली प्रदेशको सुरक्षा चुनौती विश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले व्यक्त गर्नुभयो ।

यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल केडेलले प्रदेश सरकार आगामी निर्वाचनका लागि सङ्घीय सरकारलाई साथ सहयोग गर्न तत्पर रहे पनि अहिले नै निर्वाचनको वातारण बनि नसकेको अवगत गराउनुभयो । राजनीतिक दल र दलीय व्यवस्थालाई नजर अन्दाज गर्दै जाने हो र सौहार्द राजनीतिक वातावरण प्रदेशमा नबनाउने हो भने आगामी निर्वाचन गर्न चुनौती हुने उहाँको धारणा थियो ।