आठबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो कर्णाली महिला सम्मेलन


कमल शर्मा
सुर्खेत : आठबुँदे घोषणापत्र जारी गर्दै कर्णाली महिला सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले लैङ्गिक समानता, समावेशी विकास र महिलामैत्री शासन प्रणाली सुदृढ गर्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको हो ।
सम्मेलनले कर्णाली प्रदेशमा लैङ्गिक उत्तरदायी शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, विकास प्रक्रियामा लैङ्गिक समावेशिता, नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, न्यायमा पहुँच तथा महिलामाथि हुने सबै प्रकारका हिंसा र भेदभाव अन्त्यका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ ।
घोषणापत्रमा नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेको लैङ्गिक समानता र सामाजिक न्यायलाई व्यवहारमा उतार्न संघ, प्रदेश र स्थानीय तहलाई पूर्ण रूपमा उत्तरदायी बन्न आह्वान गरिएको छ । साथै स्थानीय, प्रदेश र संघीय सरकारका नीति, योजना, बजेट निर्माण तथा सेवा प्रवाहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक उत्तरदायी शासन प्रणालीलाई औपचारिकतामा सीमित नराखी नतिजामुखी र व्यवहारिक अभ्यासमा रूपान्तरण गर्न माग गरिएको छ ।
दलित, अपाङ्गता भएका, एकल, सीमान्तकृत, ग्रामीण तथा लैङ्गिक अल्पसंख्यक महिलाको सेवा र अवसरमा पहुँच सुनिश्चित गर्न विशेष नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख घोषणापत्रमा छ । महिला नेतृत्वलाई संख्यामा मात्र सीमित नगरी नीति निर्माण र निर्णय तहमा प्रभावकारी भूमिका सुनिश्चित गर्न राजनीतिक दल र तीनै तहका सरकारी संयन्त्रलाई आह्वान गरिएको छ ।
त्यसैगरी महिलामाथि हुने शारीरिक, मानसिक, यौन, आर्थिक, सामाजिक–सांस्कृतिक तथा पछिल्लो समय बढ्दो डिजिटल हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । हिंसापीडित महिलाको न्यायमा पहुँच, गोपनीयता, सुरक्षा, पुनस्र्थापना र आर्थिक सशक्तीकरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको घोषणापत्रमा स्मरण गराइएको छ । महिनावारी विभेद, बालविवाह, बोक्सीको आरोप, जातीय तथा लैङ्गिक विभेदजस्ता कुप्रथाविरुद्ध समुदायस्तरमै निरन्तर सचेतना र अभियान सञ्चालन गर्न सरकार, नागरिक समाज संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसमक्ष आह्वान गरिएको छ । साथै लैङ्गिक समानतामूलक समाज निर्माणका लागि नागरिक समाज, सञ्चारमाध्यम, युवायुवती तथा पुरुषहरूको सक्रिय सहभागितामा सहकार्य आवश्यक रहेको उल्लेख छ ।
सम्मेलनको समापन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका नगर प्रमुख मोहनमाया ढकालले महिलालाई अवसर र जिम्मेवारी दिएमा सबै दायित्व कुशलतापूर्वक पूरा गर्न सक्षम हुने बताउनुभयो । उहाँले कार्यक्षमताका आधारमा जिम्मेवारी दिँदा महिलाहरू त्यसबाट नभागी चुनौतीका रूपमा स्वीकार गर्ने स्पष्ट पार्नुभयो ।
संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको उल्लेख गर्दै नगर प्रमुख ढकालले उक्त सहभागितालाई अझ प्रभावकारी बनाउन महिलाहरू स्वयं सक्षम र सशक्त बन्न आवश्यक रहेको बताउनुभयो ।स्थानीय तहदेखि विद्यालय, सामुदायिक वनलगायतका क्षेत्रमा महिलाले देखाएको नेतृत्व र योगदान उल्लेखनीय रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी सम्मेलनले लैङ्गिक उत्तरदायी शासन प्रणाली, विकासमा लैङ्गिक समावेशिता, नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, न्यायमा पहुँच तथा महिलामाथि हुने लैङ्गिक हिंसा र भेदभाव अन्त्यका लागि नीतिगत सुधार आवश्यक रहेको निष्कर्षसहित सरकारलाई सिफारिससमेत गरेको छ ।

