हातहतियार खोज्दै प्रहरी


दैलेख : आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँहरूमा अवैध हातहतियारको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालले निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत गाउँ–गाउँमा हातहतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खोजी कार्य भइरहेको जानकारी दिनुभयो । प्रहरीको आग्रहका बाबजुद पनि हातहतियार नबुझाउने व्यक्तिहरूलाई पहिचान गरी पक्राउसमेत गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पुस ५ गते दैलेखको नौमुले गाउँपालिका–२, उनपाटाका ३७ वर्षीय भीमबहादुर शाहीले भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाहीमाथि जिल्ला अदालत दैलेखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नौमुले गाउँपालिका–२ कै उनपाटा सामुदायिक बनमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उक्त सामुदायिक बन बाट दुई नाल भरुवा बन्दुक फेला पारेको छ । फेला परेका बन्दुक रितपूर्वक मुचुल्का उठाई जिल्ला प्रहरीमा ल्याएको र कसको बन्दुक भनी खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले निर्वाचन अवधिभर जिल्लामा शान्ति सुरक्षा कायम राख्न अवैध हातहतियार स्वेच्छिक रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन पुनः आग्रह गरेको समेत गरेको छ । लाइसेन्स भएका विभिन्न हातहतियार समेत निर्वाचनको अवधीभर जिल्ला प्रहरीलाई बुझाउन आग्रह गरिएको छ ।

