कुलिङ अफ पिरियडको छानबीन गर्न विशेष समिति गठन

काठमाडौँ : सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गरेका हुन ।
प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा ९एमाले० का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा ९माओवादी केन्द्र० का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहेका छन ।
समितिले विधेयकका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेस भएको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, निर्णय, विद्युतीय अभिलेख (अडियो, भिडियो) भन्दा फरक हुनेगरी ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था उल्लेख भएकोबारे छानबिन गर्नेछ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० को सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेस भएको समितिको प्रतिवेदनमा सोसम्बन्धी व्यवस्था मूल विधेयकको व्यवस्थाभन्दा फरक के कति कारणले हुन गएको हो भन्ने विषयमा छानबिन गर्ने समितिलाई कार्यादेश दिइएको छ ।
यसैगरी कानुनी तादम्यता नहुनेगरी प्रतिवेदन तयार गर्नेउपर छानबिन गर्ने र समितिबाट तयार भएको प्रतिवेदनमा त्रुटि भएको भन्ने सन्दर्भमा कसको संलग्नता रहेको छ, यकिन गरी त्यस्ता पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने या नपर्ने विषयमा सुझाव पेस गर्ने भनिएको छ। प्रतिवेदन लेखनलगायत विषयमा देखिएका कमजोरी पत्ता लगाई भविष्यमा यस्ता प्रकृतिका कमीकमजोरी हुन नदिन के कस्तो सावधानी वा उपाय अपनाउनुपर्ने हो सो सम्बन्धसमेत समितिले सुझाव पेस गर्नेछ।


