समृद्धिका लागि सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकास र समृद्धिका लागी संचारक्षेत्र संगको सहकार्य महत्वपूर्ण भएको बताए । मंगलबार प्रेस चौतारी नेपालको सातोँ जिल्ला अधिवेशनमा मुख्यमन्त्री कँडेलले समर्पण, बलिदान र योगदानको भावना अनुसार प्रदेश सरकार अगाडि बढेको बताएका हुन् । उनले राज्य सञ्चालनमा विभिन्न चुनौतीहरू रहेको स्वीकार्दै, सामूहिक रूपमा अगाडि बढ्ने आवश्यकता रहेकोमा जोड दिए ।
संविधान निर्माण र निर्वाचनपछि राजनीतिक दलहरूले समृद्धि र विकासभन्दा सत्तालाई प्राथमिकता दिएकोले जनतामा निराशा उत्पन्न भएको मुख्यमन्त्री कँडेलको भनाइ छ। मुख्यमन्त्री कँडेलले अहिले दुई प्रमुख दलहरूबीच सहकार्य गर्दै अघि बढ्ने वातावरण बनेको बताउँदै, प्रदेशसभामा देखिएका विभिन्न संकेतहरूलाई ध्यानमा राखेर सरकार जिम्मेवारीपूर्वक अघि बढिरहेको स्पष्ट पारे । उक्त अधिवेशनबाट डील स्मृति क्रियाशील पत्रकारिता पुरस्कार नन्द कठायतलाई प्रदान गरिएको छ।