Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बर्षातले देशभरका २४ राजमार्ग अवरूद्ध,


सुर्खेत :  कर्णाली लगायत देशका अधिकांश स्थानहरुका वर्षा भइरहेको छ । वर्षाका कारण आएको बाढी तथा पहिरोले कर्णाली लगायत देशभरका २३ वटा राजमार्गहरु पूर्ण अवरुद्ध भएका छन् । कुल एक सय ४७ राजमार्गहरु मध्ये ७३ वटा एकतर्फी र ५१ वटा सडकहरु दुवैतर्फ सुचारु रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

वर्षाका कारण कर्णाली राजमार्गको कालिकोटको पिली, हुल्म, डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, उत्तर दक्षिण सडक अन्तर्गतको खादबारी सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ । यस सडक खण्डमा बाढीले ठाउँठाउँमा क्षति पु¥याएको छ । डुम्रे–बेशिसहर–चामे सडक खण्डको चिमाङ्ग, खरखरे भिर र उदीपुर दलाल खण्डमा पहिरोका कारण अवरुद्ध बनेको छ । उत्तर दक्षिण कालिगण्डकी लोकमार्ग अन्तर्गत गुल्मीको बरल्वा, गुल्मीकै कनौटा र स्याङ्जाको रातोडाँडामा सडक अवरुद्ध छ ।

कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्ड म्याग्दी र स्याङ्जामा पहिरोका कारण अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–माडिचौर–दारबोट सडक खण्ड प्युठानको सिमलचौर, अधेरी खोला, खार्से खोला र गर्नेनीमा अवरुद्ध बनेको ।

वर्तुङ–तानेसेन–रिडी–वामीटक्सार–खर्वाङ सडक खण्ड पाल्पाको अर्गेलीमा अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड सिन्धुपाल्चोकको कोदारीमा पहिरोका कारण अवरुद्ध बनेको छ । यस्तै, विपी राजमार्ग अन्र्तगत बर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल सडक खण्ड काभ्रेपलान्चोकको चारसयमा अवरुद्ध बनेको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अछामको तासी बजार, बुढाबगरमा अवरुद्ध छ । सिद्धार्थ राजमार्गको बेलहिया–भैरवा–बुटवल–वर्तुङ, राम्दी–स्याङ्जा–पोखरा खण्ड स्याङ्जाको गैराथोकमा अवरुद्ध छ ।

कान्ति राजमार्ग सडक योजना अन्तर्गत हेटौडा–वागमती–टिकाभैरव–भैसेपाटी–एकान्तकुना सडक ललितपुरको खरीवासमा अवरुद्ध छ । भालुवाङ–लिवाङ–माडीचौर–दारबोट सडक प्युठानमा अवरुद्ध छ ।

बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड स्याङ्जाको छानगढीमा पहिरोले अवरुद्ध बनेको छ । मिर्चैया–कटारी–घुर्मी सडक उदयपुरको घुर्मी नजिक अवरुद्ध बनेको छ ।

पुष्पलाल ९मध्य पहाडी० राजमार्ग सिन्धुलीको अक्करे र खुदुलेमा अवरुद्ध बनेको छ । यस्तै, अमेलिया–तुल्सिपुर–सितलपाटी–थारमारे–मुसीकोट सल्यानमा अवरुद्ध बनेको छ । तानसेन–रिडी–करेला सडक खण्ड म्याग्दीको सिरुवारीमा अवरुद्ध छ । तौलिहवा–गोरुसिङ्ग–सन्धिखर्क सडक अर्घाखाचिको नरपानीमा अवरुद्ध छ । अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास गरिएको भएपनि भारी वर्षाका कारण समस्या भइरहेको सडक विभागले जनाएको छ ।