Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरी आमा


जुम्ला :  बालविवाह रोक्ने भन्दै आधा दर्जन गैरसरकारी संस्थाले घरदैलोमै पुगेर सचेतना फैलाइरहे पनि जुम्लाका १७ प्रतिशत किशोरी आमा बनेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरू आमा बनेका छन् ।

स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाको उमेर समूह हेर्दा यो तथ्यांक भेटिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा धेरै गुठीचौर गाउँपालिकामा ३३ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बनेका छन् । पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी आमा बनेका छन् । यो तथ्यांकले जुम्लामा बालविवाहको अवस्था निकै भयावह देखाएको छ ।

 

जनस्वास्थ्य कार्यालय जुम्लाकी सिनियर अनमी मोर्चा शाही गाउँघरमा सानै उमेरमा विवाह गर्ने चलन कायमै रहेको बताउँछिन् । शिक्षाको कमी, गरिबी र देखासिकीका कारण बालविवाह हुने गरेको छ । बच्चा जन्माउने र हुर्काउनेबारे जानकारी नै नभईकन विवाह गर्दा आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘शरीरका अंग पूर्णरूपमा विकास भइसकेका हुँदैनन् । जसले गर्दा पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने खतरा देखिएको छ । यो चिन्ताजनक अवस्था हो,’ अनमी शाहीले बताइन् ।
साभार कान्तीपुर