Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

प्रदेशभर खस्कियो एसइई नतिजा


सुर्खेत  :   राष्ट्रिय परीक्षा बोर्डले नयाँ लेटर ग्रेडिङ प्रणालीका आधारमा सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कर्णालीका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीका आधारमा नतिजा प्रकाशन हुँदा प्रदेशभर आधाभन्दा बढी अर्थात् ५९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस प्रदेशबाट एसइई दिएका ३५ हजार ४४६ विद्यार्थीमध्ये १४ हजार ६५४ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार २० हजार ७७९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी) मा परेका छन् । यो वर्ष प्रदेशभरबाट ४१.३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।

निर्देशनालयका अनुसार जाजरकोटबाट चार हजार ५७२ परीक्षार्थीले एसइई दिएकामा दुई हजार ५२९ उत्तीर्ण भएका छन् । दुई हजार ४३ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । त्यस्तै एसइईको नतिजामा सुर्खेतका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । जिल्लाभर ३३.७४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । सात हजार ९७९ परीक्षार्थीले परीक्षा दिएकामा दुई हजार ६९२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । पाँच हजार २८७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।

दैलेखबाट चार हजार ९१५ जनाले एसइईको परीक्षा दिएकामा ८२८ विद्यार्थी मात्र उत्तीर्ण भए । चार हजार ८७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रतन विष्टले बताए । उनका अनुसार जिल्लामा १५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै
सल्यानको परीक्षाफल पनि राम्रो देखिएको छैन । चार हजार ५२९ विद्यार्थीले परीक्षा दिएकामा दुई हजार ३०३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख लालबहादुर घर्तीमगरले ५०।८७ प्रतिशत उत्तीर्ण भएको बताए ।

हुम्ला जिल्लाबाट ४६.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक हजार १६९ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जिल्लाका ६२९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको निमित्त शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश आलेमगरले बताए । त्यस्तै रुकुमपश्चिमबाट तीन हजार ५६० जनाले एसइई परीक्षा दिएका थिए । जसमध्ये दुई हजार २२३ जना उत्तीर्ण भएका छन् । जिल्लाका ६४.७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तारा पुनमगरले बताए । एक हजार २७७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।

कालीकोटबाट एसइईमा ३७.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीन हजार ६१५ जनाले एसइई परीक्षा दिएकामा एक हजार ३६६ विद्यार्थी उत्तीर्ण भएका हुन् । दुई हजार २४९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको बताइएको छ । त्यस्तै जिल्लाबाट ४४ प्रतिशत विद्यार्थी एसइई परीक्षामा उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ अनुसार एक हजार ३० जनाले एसइई परीक्षा दिएका थिए । त्यसमध्ये ४५४ जना मात्र उत्तीर्ण भएका छन् । ५७६ विद्यार्थी अनुत्तीर्ण अर्थात् ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।