Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बजेटमाथिको छलफल सकिएको घोषणा

सुर्खेत : कर्णाली प्रदेश सरकारले ल्याएको बजेटको विषयलाई लिएर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असार ५ गतेदेखि लगातार संसद् अवरुद्ध गरिरहेको छ । असार ६ गते बैठक सञ्चालन नहुँदै कांग्रेस प्रदेश सभाबाट बाहिरिए यता संसद् चल्न सकेको थिएन । असार १२ गतेदेखि सूचना टाँस गरेर बैठक सर्दै आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । तर, सरकार र प्रतिपक्षबिच सहमति नहुँदै ७ बजे मात्रै बैठक सुरु भयो ।

सरकार र प्रतिपक्षबिच सहमति नभई बैठक सञ्चालन गरेको, प्रतिपक्षका मागको बेवास्ता गर्दै सरकार अघि बढ्न खोजेको भन्दै कांग्रेसले अवरोध गर्‍यो ।
तर, सभामुख नन्दा गुरुङले प्रतिपक्षको अवरोधका बिच अर्थमन्त्री महेन्द्र केसीलाई जवाफ दिन रोस्टममा बोलाइन् । त्यसबिचमा कांग्रेसले अर्थमन्त्री केसीलाई रोक्न खोज्यो । तर केसी फुत्किएर रोस्टममा गए । उनले आफूले यसअघि नै बजेटमाथि जवाफ दिइसकेको भन्दै जवाफ सकिएको जानकारी गराए ।

त्यसपछि सभामुख गुरुङले बजेटमाथिको सामान्य छलफल सकिएको घोषणा गरिन् । उनले सोमबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाएकी छिन् । कांग्रेस सांसद बेदराज सिंहले सरकारले प्रतिपक्षका माग सम्बोधन नगरेर जबरजस्त अघि बढ्न खोजेको आरोप लगाए । बजेटमाथि उठेका विषयहरूको समाधान नहुँदै जबरजस्ती तरिकाले सदन चलाएको उनले आरोप लगाए । साभार रातोपाटी