मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत
वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको हो ।
योसँगै मधेसमा जसपा ६ वर्षपछि सत्ताविहीन भएको छ । सङ्घीयतापछि मधेसमा जसपा नेपालले सरकार चलाउँदै आएको थियो । यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेसको मुख्यमन्त्री रहेका थिए । त्यसपछि जसपा नेपालबाटै यादवले मधेस सरकारको नेतृत्व गरेका थिए । तर बुधबार उनले विश्वासको मत नपाएपछि जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो ।
बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । सभामुख रामचन्द्र मण्डलले उक्त सङ्ख्या कूल सङ्ख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत गरेका थिए । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।